
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यस वर्ष गत वर्षभन्दा १०८ प्रतिशत बढी खुद नाफा गरेको छ । बिहीवार सार्वजनिक कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष रू. १२ करोड ६२ लाख ६७ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ६ करोड ६ लाख ५८ हजार रहेको थियो ।
यस वर्ष विद्युत विक्री आम्दानीसँगै अन्य आम्दानी बढेकाले कम्पनीको नाफामा बृद्धि भएको हो । गत वर्ष रू. २४ करोड ३८ लाख ९७ हजार कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३५ करोड ११ लाख ६ हजार यो आम्दानी गरेको हो । यस वर्ष विद्युत विक्रीबाट रू. २८ करोड १ लाख ३६ हजार र अन्य स्रोतबाट रू. ६ करोड २९ लाख ८९ हजार आम्दानी भएको हो । गत वर्ष विद्युत विक्रीबाट रू. २४ करोड २३ लाख ४९ हजार र अन्य स्रोतबाट रू. १५ लाख ४७ हजार मात्र आम्दानी भएको थियो ।
हकप्रद शेयर र बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार पु¥याएको कम्पनीले फेरी हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । पहिलो चरणमा ४७ प्रतिशत हकप्रद विक्री गरेको अपिले दोस्रो चरणमा २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद निष्कासनको मिति भने हालसम्म तय गरेको छैन् । उक्त हकप्रद शेयर प्रयोजनका लागि भने बैशाख २९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र अपिको हकप्रद शेयर खरिद गर्न सक्नेछन् ।
तेस्रो त्रैमाससम्म अपि पावरको जगेडा कोष रकम पनि गत वर्षभन्दा १०७ दशमलव ६८ प्रतिशत बढी रू. २८ करोड १ लाख ३६ हजार कायम भएको छ । प्रतिशेयर आम्दानी यो अवधिसम्म रू. ८ दशमलव ७२ रहेको अपि पावरको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ५२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस