
काठमाडौं । इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड–२०१९ आयोजनाको लाथि नेपाल सरकारले दिने बजेटको विषयलाई टिकाटिप्पणी गर्न थालेपछि नेपाल पर्यटन बोर्डले पत्रकार सम्मेलन गरेर बजेटको टुङ्गो लागि नसकेको स्पष्ट पारेको छ ।
बोर्डले आगामी अगष्ट महीनाको अन्तिम साता काठमाडौँमा आयोजना गर्ने तयारी गरिएको उक्त अवार्डमा लाग्ने नगद तथा अन्य सौजन्यलगायत खर्चबारे अझै वार्ताकै क्रममा रहेकाले बाहिर आएजस्तो रकम खर्च नहुने प्रष्ट पारेको हो ।
आइफा अवार्डका लागि सरकारले एक अर्ब रुपैयाँ रुपैयाँ खर्च गर्न लागेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा छाएको थियो । आयोजकले अर्वाड सम्पन्न गर्न करीब डेढ अर्ब रुपैयाँ लाग्ने र त्यसमा करीब रु ४० देखि ५० करोड नगद र अन्य ‘लजिस्टिक’ सहयोगको उनीहरुबाट आग्रह भए पनि नेपालले कति खर्च गर्ने भन्नेमा निर्णय हुनबाँकी रहको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
अवार्ड आयोजकले नगद ४० करोड रुपैयाँ र भारतका मुख्य शहरदेखि काडमाडौँंसम्म दुईतर्फि हवाईभाडा, होटल तथा स्थानीय यातायात र सुरक्षाको जिम्मा नेपालले लिनुपर्ने प्रस्ताव गरेका जोशीले बताए ।
अवार्ड आयोजनाका लागि पर्यटनमन्त्री संयोजक रहनेगरी १७ सदस्यीय समिति गठन गरिएको छ । त्यसमा बोर्डले सदस्य सचिवको जिम्मेवारी पाएको छ । मन्त्रिपरिषद्को हालैको बैठकले काठमाडौंँ महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको समन्वयमा अवार्ड सम्पन्न गर्ने निर्णय गरेको थियो ।
अवार्डका लागि नेपालले व्यहोर्नुपर्ने खर्च महानगरपालिका, पर्यटन बोर्ड र निजी क्षेत्रका सङ्घ संस्था, नेपाल उद्योग वाणिज्य महासङ्ग, उद्योग परिषङ, होटल एशोसिएशन अफ नेपाल (हान)लगायतको साझेदारी गरिने जोशीले जानकारी दिनुभयो । नेपाली सेनाको मुख्यालय परिसरमा रहेको खेलकूद मैदानमा अवार्ड आयोजना गर्ने प्रारम्भिक निर्णय भएको भए पनि स्थान परिवर्तन पनि हुनसक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस