
काठमाडौं । महिना दिन अघि किन्नै नसकिने गरी महँगिएको तरकारीको मूल्य एकाएक सस्तो भएको छ। एक महिना अघि हरियो तरकारीको मूल्य छोई नसक्नु गरी बढेकोमा अहिले सस्तिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वैशाख ६ गते तोरीको सागको थोक मूल्य प्रति केजी ५५ रुपैयाँ थियो । तर, जेठ ५ गते तोरीको सागको मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ । एक महिना अघिको मूल्यसँग तुलना गर्ने हो भने तोरीको सागको मूल्य आधाले घटेको हो।
कोरोना सङ्क्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत १६ गते देखी निषेधाज्ञा गरेपछि बजारमा हरियो तरकारीको माग घटेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। उनले भने,“अहिले स्वदेशी तरकारी उत्पादनको सिजन भएकाले पनि यस्तो भएको हो।' हाल उत्पादन बढी भएको र माग कम भएकाले हरियो तरकारीको मूल्य घटेको उनको निष्कर्ष छ।
त्यसो त कोरोना महामारी बढेसँगै काठमाडौँ उपत्यकाबाट ठुलो सङ्ख्यामा मानिसहरू बाहिर गएका छन्। त्यसैले तरकारीको उपभोक्ता सङ्ख्याको हिसाबले पनि घटेकाले तरकारीको मूल्य सस्तो भएको हो।
यो निषेधाज्ञाको समयमा चितवन, धादिङ लगायत विभिन्न जिल्लामा उत्पादन भएको तरकारी आइरहेको छ । प्राय काठमाडौं बजारमा आउने अहिलेको हरियो तरकारी स्वदेशी उत्पादन बढी रहको छ। तथापि ३५ प्रतिशत तरकारी भारतबाट नै आउने गरेको श्रेष्ठले जानकारी दिए ।
यो एक महिना अवधिको सूचि हेर्ने हो भने वैशाख ६ मा परवलको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँमा कारोबार भएको थियो। तर त्यही तरकारी जेठ ५ गते प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, घिरौँला प्रतिकेजी औसत मूल्य ७० रुपैयाँ रहेकोमा अहिले प्रतिकेजी औसत मूल्य ३७ रुपैयाँमा किनबेच भइरहेको छ । घिउ सिमी वैशाख ६ गते प्रतिकेजी औसत मूल्य ११५ रुपैयाँ रहेको थियो। तर, जेठ ५ बुधवार घटेर प्रतिकेजी औसत मूल्य ५५ भएको छ । त्यस्तै गाजर प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेकोमा अहिले आएर प्रतिकेजी औसत मूल्य ४२ रुपैयाँ रहको छ ।
हरियो तरकारीको मात्र नभएर प्याज, आलु, अदुवा, लसुनको मूल्यमा समेत निकै गिरावट आएको छ। त्यसै गरी कुखुराको मासुको मूल्य समेत ४५ प्रतिशतले सस्तो भएको छ। तर, खसी र माछाको मूल्यमा भने खासै कमी आएको छैन।
प्रतिक्रिया दिनुहोस