
काठमाडौँ। विश्व भर नै शेयर बजारमा के पनि देखियो भने लगानीकर्ताहरूले नाफा नै नदिने कतिपय कम्पनीहरूमा पैसा खन्याइरहेका छन् । बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) का हिसाबले संसारका सबैभन्दा ठुला १,५०० कम्पनीहरूमध्ये २०० वटा कम्पनीले पछिल्ला तीन वर्षमा नाफा दिएका छैनन् । तापनि तिनीहरूमा लगानीकर्ताहरूले लगानी गर्न छाडेका छैनन्।
अहिले यस्ता कम्पनीको जम्मा २.३ खर्व डलरको कुल बजार मूल्य छ। वाल स्ट्रिटले सन् १९९० को उत्तरार्धदेखि नाफा कमाउन नसक्ने कम्पनीहरू जसको उच्च बजार मूल्य छ त्यस्ताको सुची नै तयार गर्दै आएको छ। भलै त्यो बेला यस्ता कम्पनीहरूको कुल बजार मूल्य अहिलेको भन्दा आधा नै कम थियो।
त्यस्ता कम्पनीमा मानिसहरू किन लगानी गर्छन् भन्ने हेर्ने हो भने धेरैले खासमा त्यो कम्पनीले दिने मुनाफा कति हो भन्ने कुरामा हेक्का नै राख्दा रहेनन्। अनि कतिपयले चाहिँ आफूले लगानी गरेको कम्पनीले कुनै दिन ठुलो नाफा दिनेछ भन्ने आशामा पनि नाफा बाँड्न नसकिरहेका कम्पनीमा लगानी गर्दा रहेछन्।
यदि तपाई पनि कुनै कम्पनीले भविष्यमा नाफा देला भन्ने सोचेर त्यसमा लगानी गर्दै हुनुहुन्छ भने निश्चित हो कि तपाई ठुलो जोखिम मोल्दै हुनुहुन्छ। यसको अर्थ तपाई त्यो अज्ञात क्षेत्रमा जाँदै हुनुहुन्छ जहाँ जे पनि हुन सक्छ।
त्यसैले हामीले के कुरा बिर्सनु हुँदैन भने यदि अर्थव्यवस्था सुस्त छ भने सरकारले उठाउने राजस्व र कर्पोरेट कम्पनीले गर्ने नाफा वृद्धि पनि घट्छ। यो त्यो विन्दु हो जसमा शेयर बजारको साँढे (बुल) मा विशेष ध्यान दिनुपर्दछ। धेरैले यो बेला 'कम ब्याज दर' को आडमा पुँजी बजारमा उच्च लगानी गरिरहेका छन्। एउटा कुरा जुन तपाईँले बिर्सनु हुँदैन त्यो के भने जब कम्पनीको मुनाफा कम हुन्छ त्यसपछि करको दर पनि बढ्छ। अनि मार पर्ने भनेको पुँजी बजारमा नै हो।
ठुलो समस्या भनेको बजारमा कम्पनीको शेयर मूल्य र सो कम्पनीको वास्तविक आय बिचको अन्तर नै हो। अहिले हामी जुन अवस्थाबाट गुज्रिरहेका छौँ त्यसले हाल कम्पनीहरूको शेयर मूल्य जुन स्तरमा त्यसको औचित्य प्रमाणित गर्न कठिन हुनेछ। त्यसो त विश्लेषकको अनुमान सधैँ आशावादी हुन्छ तर के भुल्नु हुँदैन त्यहाँ निराशाको लागि प्रशस्त ठाउँ हुन्छ।
यो लेखमा उठान गर्न खोजिएको प्रमुख कुरा यो हो कि वास्तवमा शेयर बजारमा कसले खेलिरहेको छ भन्ने बुझ्नुपर्छ। ठुला कर्पोरेटहरू अर्थात् हाम्रो भाषामा भन्ने गरेका बजारका खेलाडीले यसरी पुँजी बजारलाई उत्ताउलो बनाइरहेका छन् भन्ने कुरा भुल्नु हुँदैन। अहिले प्रति शेयर कति आय दिने कम्पनीको बजारमा शेयर मूल्य कति छ भन्ने मात्र हेर्ने र यो विषयमा एक मिनेट मात्र घोत्लिने हो भने धेरै कुरा आफैँ स्पष्ट हुन्छ।
पछिल्लो समय शेयर बजार त बढेको छ तर के त्यहाँ सूचीकृत भएका कम्पनीले दिने मुनाफा र ती कम्पनीको बजार मूल्य बिच कतै तादम्यता छ ? यदि हामी आफूलाई शेयर बजारका कारोबारी भन्न रुचाउँछौ भने जबसम्म यो विषयमा एक प्रकारको परिभाषित, स्पष्ट र तर्क सङ्गत जवाफ पाइँदैन तबसम्म यो भन्न हिचकिचाउनु हुँदैन कि हामी निकै जोखिमपूर्ण अनिश्चित यात्रामा छौँ।
हामी नेपालमा नै त त्यस्तो होला भन्ने अनुमान नगरौँ। तर, विश्वका धेरै ठुला कम्पनीले समेत कतिपय त्रैमासमा एकाउन्टिंगका अनेकौँ साधनहरू प्रयोग गरेर मुनाफा बढेको देखाउने गरेका उदाहरणहरू छन्। त्यसो हुँदा त्यसबिच कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्ने र उपयुक्त समय हेरेर हिसाब मिलाउने समेत गर्ने चलन छ। हामी सर्वसाधारणले कुनै प्रश्न गर्ने ठाउँ समेत हुँदैन किनकि ती साधनहरू प्रयोग गर्ने सैद्धान्तिक आधार उनीहरूले तयार गरेर राखेका हुन्छन्।
यी त भए आफू सचेत बनेर मात्र शेयर बजारमा लगानी गरौँ भन्ने कुरा। वास्तविक नाफा कुन कम्पनीले बढी कमाएको छ त्यो हेरेर मात्र कम्पनीको मूल्याङ्कन गर्नुपर्छ भन्ने कुरालाई मूल मन्त्र बनाउनै पर्छ। कहिलेकहीँ हामी एउटा कम्पनीले बढी कमाएको छ भन्ने बुझाइमा हुन्छौँ जबकि यथार्थता अर्कै हुन्छ। यसको एउटा उदाहरण हेरौँ।
तपाईँ सोच्नुहोस् त विश्वको सबैभन्दा मुनाफा कमाउने कम्पनी कुन होला ? केही उत्तरहरू तपाइको दिमागमा पक्कै आए - शायद फेसबुक, अमेजन, टेस्ला, माइक्रोसफ्ट वा एप्पल मध्ये कुनै एक हुनुपर्छ। तर, सीएनएनमा हालै प्रकाशित एक लेखको अनुसार तपाईँको अनुमान पुरै गलत हो।
त्यसो भए, संसारमा सबैभन्दा बढी लाभदायक कम्पनी कुन हो ? फेरि पनि तपाईँले माथि कै कुनै कम्पनी सोच्नु भयो। हो, तपाईँले सोचेको जवाफ गलत छ। कर्पोरेट नाफाको हिसाबले हेर्ने हो भने अमेरिकी मुद्रा (डलर) निष्कासन गर्ने कम्पनी फेडरल रिजर्भ नै संसारमा सर्वाधिक नाफा कमाउने कम्पनी हो। तर, आफ्नो नाफाको एक निश्चित हिस्सा हरेक आर्थिक वर्षको अन्त्यमा फेडरल रिजर्भले अमेरिकी सरकारलाई दिने गर्छ।
त्यसरी फिर्ता गरेपछि सो कम्पनीसँग वास्तविक नाफा कम हुने भएकोले यसबारे खासै चर्चा हुने गरेको छैन। तर सत्य यो हो कि नाफा कमाएको आधारमा मात्र हेर्ने हो भने फेडरल रिजर्भ एक्लैले कमाएको नाफा एप्पल, माइक्रोसफ्ट, जेपी मोर्गन, फेसबुक, म्याकडोनाल्ड, कोका-कोला, वाल मार्ट, होम डिपो, इन्टेल, जोन सन एण्ड जोन सन, बैङ्क अफ अमेरिका, नाइकी, भिसा, अमेजन, र नेटफ्लिक्स जस्ता सबै कम्पनीले कमाएको भन्दा बढी हुने गर्छ।
प्रतिक्रिया दिनुहोस