aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दूधको खपत समेत घट्यो, किसान समस्यामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
दूधको खपत समेत घट्यो, किसान समस्यामा

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण र रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले दूधको व्यापार घटेको छ । देशव्यापी निषेधाज्ञाका कारण दुग्धजन्य वस्तुको बिक्री घटेको हो । 

दूध डेरी व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले निषेधाज्ञा अगाडिको तुलनामा अहिले आधा भन्दा पनि कम दुग्धजन्य पदार्थ बिक्री भइरहेको बताउँछन् । 

अहिले निषेधाज्ञा समयमा एक क्यान (४० लिटर) दूध बिक्री गर्न पनि धौ धौ भइरहेको काठमाडौं जिल्ला धापासिमा रहेको उग्र चण्डी दूध डेरीकी शर्मिला अधिकारी सुनाउँछिन् । उनले थप्दै भनिन्, 'अहिले लागू गरिएको निषेधाज्ञा भन्दा अगाडि दैनिक चार क्यान अर्थात् लगभग १५० लिटर दूध बिक्री हुन्थ्यो। अहिले त्यसको आधा पनि व्यापार छैन।' 

दही, पनिर, नौनी, घ्यू लगायतका वस्तु पनि बिक्री भइरहेको छैन । आफ्ना दैनिक ग्राहक अहिले उपत्यका छोडेर गाउँ गएका बाकि रहेको पनि कोरोनाका त्रासले किन्न नआएको अधिकारीले बताइन्। उनले हताश मनस्थितिमा पुगेको दर्साइन, 'खै यसरी नै बर्सेनि कोरोना आउने हो भने पसलको भाडा पनि कसरी तिर्ने ? अनि परिवार यसैको भरमा छ कसरी पाल्नु ?'

यता दूधको सङ्कलन, खपत र बिक्री घटेसँगै किसान पनि मारमा परेका छन् । किसानहरूले ३ महिना यता दूधको भुक्तानी पाउन सकेका छैनन् । डिडिसीका मार्केटिङ प्रबन्धक सञ्जीव झाका अनुसार किसानहरूको ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । आफूहरूसँग पहिले देखि नै स्टकमा रहेको वस्तु बिक्री नभइरहेका कारण भुक्तानीमा ढिलाइ भएको झा बताउँछन् । 

उत्पादित वस्तु नै बिक्री नभएपछि भुक्तानी दिन गाह्रो भएको उनले सुनाए । यस्तो महामारीको बेला दूध स्टकमा राख्ने अवस्था पनि नरहेको उनको भनाई छ।  निषेधाज्ञाको समय पनि लम्बिँदै गइरहेका कारण वस्तु बिक्री गर्न समेत समस्या भइरहेको झाले बताए । हाल डिडिसीसंग एक अर्ब रुपैयाँ भन्दा बढीको सामान अझै स्टकमा रहेको प्रबन्धक झाले जानकारी दिए । 

प्याकेट दूधको खपत समेत यस बेला घटेको उनले बताए। झाका अनुसार निषेधाज्ञा अघि एक लाख ८० हजार लिटर दूध खपत भइरहेकोमा हाल एक लाख ६० हजार लिटर मात्र दूध खपत भइरहेको बताए । 

दुग्ध पदार्थ सबैभन्दा धेरै होटेल, रेस्टुरेन्टमा बिक्री हुने गरेको थियो। गतबर्ष देखि नै यो व्यवसायमा कोरोनाको कारण समस्या परेको र डिडिसीको उत्पादन बिक्रीमा समेत समस्या आएको हो । 

कोरोना महामारीको हालको लहरबाट छुट्करा नपाउँदै नयाँ भेरियन्टको कोरोनाको त्रासले वातावरण अझ बिग्रिएको छ। जसका कारण देशभर दूधको खपत घटेको हो । कोरोना पछिका दिनहरूमा हेर्दा समग्रमा दूधको खपत ४० प्रतिशतको हाराहारीमा घटेको अनुमान गरिएको छ। 

स्मरण होस, कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै हरियो तरकारी र मासुको खपतमा समेत ठुलो गिरावट आएको छ। जसका कारण बजारमा यी बस्तुको मूल्य घटेको छ। 

 

प्रतिक्रिया दिनुहोस