
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको ६ दशमलव ७५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने हुँदा बुधवार बुद्ध जयन्तिको सार्वजनिक विदा परेकाले मंगलवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै अन्य बीमा कम्पनीसँग प्राप्ती तथा मर्जर प्रकृया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
प्रतिक्रिया दिनुहोस