aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

काठमाडौं । जेठ १३ गते बिहीवार दुई बीमा कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १४ गते शुक्रवार एक दिन लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । यी दुबै कम्पनीले लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभाको मिति समेत तय गरिसकेका छन् । उक्त साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोजको मिति तय गरिएको हो । 

सिद्धार्थ इन्स्योरेन्स जेठ २८ गते १९औं वार्षिक साधारण सभा आव्हान गरेको हो । कम्पनीको आफ्नै भवन बबरमहल, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले यस वर्षको लागि प्रस्तावित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गर्नेछ । यस वर्ष कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

गत आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पूँजी बृद्धिमा जोड दिदैं बोनस शेयर प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष २०७४÷७५ को सञ्चित मुनाफाबाट कम्पनीले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा भर्चुअल माध्यमबाट अपरान्ह ४ बजेका लागि तय गरिएको छ । लाभांशसँगै गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण र सञ्चालकहरुको बैठक भक्ता पुनरावलोकन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीले गत वर्षको भन्दा यस वर्ष बढी लाभांश प्रस्ताव गरेको हो । 

अघिल्लो आर्थिक वर्ष ०७५÷७६ को सञ्चित मुनाफाबाट ८ दशमलव १२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४०६ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष १० प्रतिशत लाभांश दिन लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १४ करोड १८ लाख रहेको छ । सोही पूँजीको आधारमा रू. ११ करोड ४१ लाख ८० हजार बराबरको लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । 

प्रतिक्रिया दिनुहोस