aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर्णालीमा नेपाल टेलिकमको एफटिटिएच सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
कर्णालीमा नेपाल टेलिकमको एफटिटिएच सेवा

सुर्खेत । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरे ।

सोही फोनमा सञ्चालित इन्टरनेट सेवा मार्फत सो कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको बिचार व्यक्त गरे । नेपाल टेलिकमको काम सह्राहनीय भएको उल्लेख गर्दै यसबाट डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्ने अपेक्षा विश्वास व्यक्त गरे । 

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले कम्पनीका सेवाहरु देशका कुनाकाप्चासम्म पु¥याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताए ।

उनले कम्पनी कर्णाली प्रदेशमा अत्याधुनिक र गुणस्तरीय सञ्चार सेवाका विस्तारमा लागिरहेको र यसका लागि महत्वपूर्ण योजनाहरु सञ्चालनमा रहेका बताउँदै त्यसमा कर्मचारी लगायत स्थानीय प्रशासन र प्रदेश सरकारबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले निजी सेवा प्रदायक भन्दा टेलिकम पछाडी परेको हो कि भन्दै आफ्नो अग्रणी स्थान कायम राख्न अझै तदारुकताकासाथ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

सोही अवसरमा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले समाजमा नयाँ प्रविधिको सुत्रधारको रूपमा कार्य गरेकोमा कम्पनीलाई धन्यवाद दिंदै सेवाको गुणस्तर कायम गर्नुपर्ने तथा व्यवस्थापन अझ सुदृढ गर्नुपर्ने आवश्यकता दर्शाएका थिए ।

५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताकासाथ शुरु भएको सो सेवाको वितरण शुरु भइसकेको छ । सुर्खेतभरी नै यसको विस्तार तत्काल गर्ने कम्पनीको योजना रहेको छ । कार्यक्रममा सो सेवा लिइससेका ग्राहकहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस