काठमाडाैं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ।महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई आफ्ना माग पूरा नभए पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाउने सरकारलाई चेतावनी दिएको हाे ।
सोमबार सम्पन्न महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्यांकरहरू भ्याटमा दर्ता हुन नसक्ने उल्लेख गरेको छ।
महासंघका अनुसार ट्यांकरहरू भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्यांकरहरूको ह्रास कट्टी मूल्य तय हुनुपर्ने तथा हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडी दर्ता भएपछि विक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनु पर्नेछ।
ट्यांकरहरू ८० प्रतिशत भारतीय क्षेत्रमा सञ्चालन हुने भएकाले त्यहाँको बिल कर प्रयोजनका लागि मान्य हुनुपर्ने महासंघको माग छ। त्यस्तै, महासंघले ट्यांकर चलाउँदा खर्च हुने डिजलको भ्याट फिर्ता पाउने व्यवस्था पनि सरकारले गरिदिनु पर्ने माग राखेको छ।
महासंघले अधिकांश ट्यांकरहरू बैंक ऋणमा रहेको भन्दै ऋण फुकुवामा पहल गरिदिन पनि सरकारलाई आग्रह गरेको छ। ट्यांकर चालकहरू आफैंले सञ्चालन गरेको र बैंक ऋण फुकुवा गरेर कम्पनी दर्ता गरी भ्याटमा जान समय लाग्ने महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए।
प्रतिक्रिया दिनुहोस