
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको मंगलवार कायम अन्तिम मूल्य रू. ७६६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ तोकेको हो । बिहीवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । समायोजन पछि शेयर खरिद गर्ने लगानीकर्ताहरुले यस वर्ष कम्पनीले प्रस्ताव गरेको कुल ३ दशमलव ७५ प्रतिशत लाभांश भने पाउनेछैनन् ।
कम्पनीको लाभांश जेठ ११ गते मंगलवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ । उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने हुँदा बुधवार बुद्ध जयन्तिको सार्वजनिक विदा परेकाले मंगलवारसम्म शेयर धनीहरुमात्र योग्य भएका हुन ।
कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै अन्य बीमा कम्पनीसँग प्राप्ती तथा मर्जर प्रकृया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
प्रतिक्रिया दिनुहोस