aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

समायोजनपछि प्रतिकित्ता ४ रुपैयाँले घट्यो हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ जेठ २०७८
समायोजनपछि प्रतिकित्ता ४ रुपैयाँले घट्यो हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य बिहीवार समायोजन पछि पनि प्रतिकित्ता रू. ४ ले घटेर अन्तिम मूल्य रू. ७४० कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार कम्पनीले प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीको मंगलवार कायम अन्तिम मूल्य रू. ७६६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ तोकेको थियो । यस दिन प्रतिकित्ता रू. ७६० मा खुलेको कम्पनीको शेयरमूल्य न्युनतम रू. ७३० सम्म झरेको थियो । यो दिन कम्पनीको रू. ४ करोड १३ लाख बराबरको ५५ हजार ६८१ कित्ता शेयर कारोबार भएको छ ।

मूल्य समायोजन पछि बिहीवार शेयर खरिद गर्ने लगानीकर्ताहरुले यस वर्ष कम्पनीले प्रस्ताव गरेको कुल ३ दशमलव ७५ प्रतिशत लाभांश भने पाउनेछैनन् । कम्पनीको लाभांश जेठ ११ गते मंगलवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् ।

कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ । उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने हुँदा बुधवार बुद्ध जयन्तिको सार्वजनिक विदा परेकाले मंगलवारसम्म शेयर धनीहरुमात्र योग्य भएका हुन । 

कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै अन्य बीमा कम्पनीसँग प्राप्ती तथा मर्जर प्रकृया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस