
काठमाडौं । पाँच वर्षदेखि निरन्तर सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरिरहेको छ । तर, हालसम्म पनि यो उद्योग स्थापना भएर नेपालका कृषकहरुले राहत भने पाएका छैनन् । यस सरकारले आगामी ३ वर्षमा स्वदेशमै रासायनिक मल उत्पादन गर्ने घोषणा गरेको छ ।
रासायनिक मल कारखाना स्थापनाले आगामी आर्थिक वर्षको बजेटमा पनि निरन्तरता पाएको छ । यसमा साथै सरकारले बजेटमार्फत रासायनिक मलका दिइदै आएको अनुदानलाई पनि १२ अर्ब पुर्याएको छ । आव २०७३/७४ को बजेटले सरकारी–निजी–सहकारी अवधारणामा आधारित रासायनिक मलको कारखाना स्थापना गर्ने घोषणा गरेको थियो ।
मल कारखाना नहुँदा नेपालमा विभिन्न मुलुकबाट वार्षिक ६ अर्ब रुपैयाँको रासायनिक मल आयात हुँदै आएको छ । नेपालमा औपचारिक र अनौपचारिक गरी वार्षिक १३ अर्ब मूल्यबराबरको मलको कारोबार हुन्छ । तत्कालीन बजेटमा कार्यक्रम आएपछि आर्थिक वर्ष २०७३/७४ मै कृषि मन्त्रालयले नेपालमा मल कारखाना निर्माणको विषयमा लगानी बोर्डलाई अध्ययनको जिम्मा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस