
काठमाडौं । कर्णाली प्रदेशले कृषिका लागि जडीबुटी, रैथाने बाली, फलफूल, बीउ, गाई, भैँसी, बाख्रा पालन, युवा रोजगार तथा व्यवसायीक खेतीमा केन्द्रित रहेर आर्थिक वर्ष २०७८/२०७९ बजेटको तयारी गरिरहेको छ ।
कर्णाली प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न यहाँका सरकारले विशेष ध्यान दिएको बताए । पुरै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको बताउँदै उनले मन्त्रालय र योजना आयोगले अर्गानिक कृषिमा जोड दिएको बताए ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चलर जर्नालिस्ट (अनाज) ले ‘कोरोना महामारी र कर्णाली प्रदेशमा कृषि बजेटका सवालहरू’ आयोजना गरेको भर्चुअल बहस कार्यक्रममा बोल्दै उनले कर्णाली प्रदेशलाई व्यवसायीक कृषिमा जोड दिँदै आत्मनिर्भर कसरी बनाउनेमा पनि योजनाहरू भइरहेको बताए । उनले स्थानीय तहमा भएका फाइदाजनक तर ओझेलमा परेको स्थानीय बालीलाई प्रवर्द्धन गर्ने सोच बनाइएको जानकारी दिए ।
प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्रालयका सचिव डा.राजेन्द्र मिश्रले विगतका कमीकमजोरीलाई सुधार गर्दै स्रोत केन्द्रलाई बलियो बनाउने काम गरिरहेको बताए । 'कृषि नाफामूलक हुनपर्छ, किसानलाई नाफा भएन भने कृषिमा टिक्न सक्दैन, त्यसैले किसानको आयस्रोतमा केबाट वृद्धि हुन्छ त्यसमा कृषि मन्त्रालयले जोड छ' उनले भने।
मन्त्रालयले भैँसी, बाख्रा, पालनमा विशेष जोड दिएको बताउँदै उनले भने, 'रैथाने बालीमा धेरै उत्पादकत्व बढाउने अवस्था छैन त्यसैले रैथाने बालीका लागि बजारीकरणमा जोड दिएका छौँ ।' उच्च मूल्यमा काम गर्ने व्यवसायीहरूले कर्णालीमा आएर काम गर्न सक्ने बताउँदै उनले त्यसमा सरकारले सहयोग गर्ने जानकारी दिए। उनले भने, 'प्राङ्गारिकको दिगो आधार भनेको गोठ र बोट नै हो, त्यसका लागि आधुनिक फार्महरू बनाउनुको साथै गोठ सुधारका कार्यक्रमहरू प्राथमिकताका साथ ल्याएका छौँ ।’
कर्णालीमा बीउ उत्पादनको कार्यक्रमलाई विशेष व्यवस्था गर्न लागेको बताउँदै उनले उद्योगी, व्यवसायीलाई त्यहाँ लगानी गर्न समेत आग्रह गरे। कर्णाली प्रदेश बीउका लागि निकै सम्भावना भएको क्षेत्र भएको र यसमा सरकारले विशेष ध्यान दिन लागेको उनले जानकारी दिए । उनले सिँचाइका लागि विभिन्न कार्यक्रम तयारी गरिरहेको साथै युवालाई कसरी रोजगारमा ल्याउन सकिन्छ त्यस बारेमा पनि कार्यक्रमहरू बनाइ रहेको बताए ।
कर्णालीमा प्राविधिक स्कुल स्थापनाको लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग सहकार्य भइरहेको बताउँदै उनले पुष्प खेतीका लागि पनि किसानलाई आकर्षित गर्ने कार्यहरू भइरहेको जानकारी दिए ।
कृषि मन्त्रालयले व्याज अनुदानका कार्यक्रम गर्दै सहकारीसँग सहकार्य गरी किसानसमक्ष पहुँच पुर्याउने काम गरिरहेको उनले जानकारी दिए । हरेक घर प्राङगारिक मल उत्पादन कार्यक्रम ल्याइरहेको बताउँदै उनले त्यहाँ ठुला ठुला कारखाना सम्भव नरहेकोले प्राङ्गारी मलका लागि स-साना उद्योगहरू स्थापना गर्ने योजना रहेको बताए । १० वर्षभित्रमा सम्पूर्ण पालिकालाई अर्गानिक पालिकाको रूपमा घोषणा गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
अर्गानिक कृषिका अभियन्ता डा.कृष्ण पौडेलले बीउ उत्पादनका लागि कर्णाली प्रचुर सम्भावना भएको क्षेत्र भएको बताए। सो क्षेत्रका लागि सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो । 'मार्फा रायो साग त्यहीको उत्पादन साग हो, अन्य मुख्य जडीबुटीहरू त्यहीबाट आउने गरेको हुनाले सरकारले कर्णालीमा कृषिका लागि विशेष क्षेत्रको रूपमा राख्नु पर्छ' उनले भने।
फ्लोरी कल्चरल एसोसिएसनका अध्यक्ष कुमार जसु श्रेष्ठले कर्णाली प्रदेश पुष्प क्षेत्रका लागि निकै महत्त्वपूर्ण क्षेत्र रहेको बताए । उनले सुर्खेतमा पुष्प खेती र व्यवसायीका लागि निकै सम्भावना रहेकाले कृषि मन्त्रालयले त्यसका लागि विशेष कार्यक्रम बनाउनुपर्ने सुझाव दिए । कृषक राम बस्ताकोटी कोरोनाका कारण कृषिमा परेको अल्पकालीन तथा दीर्घकालीन असरबारे अध्ययन गरेर कार्यक्रम बनाउनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस