
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो लामाकोशी जलविद्युत् आयोजनाबाट जेठ १५ भित्रै बिधुत उत्पादन थाल्ने पूर्व योजना कार्यान्वयनमा आउन सकेन। परीक्षणको क्रममा केही त्रुटिहरू देखिएकोले त्यसको मर्मत र सुधारमा समय लागेको कारण आयोजनाको पहिलो युनिटबाट जेठ दोस्रो हप्ताभित्र विद्युत् उत्पादन थाल्ने योजना पर धकेलिएको आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले परीक्षणको समयमा देखिएका समस्याको समाधान गर्ने कार्य धमाधम भइरहेको जानकारी दिए। आयोजनाबाट बिधुतको व्यावसायिक उत्पादन हुने सम्भावित तिथिबारे जानकारी दिँदै उनले भने, 'ठ्याकै भन्न सकिन्न तर पनि असारको तेस्रो सातासम्ममा हामी उत्पादन सुरु गर्छौँ।'
आयोजनाको पहिलो युनिटको सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षणका क्रममा देखिएका समस्या खासै गम्भीर प्रकारका नरहेको समेत उनले बताए। के परीक्षण सफल नभएको हो ? भन्ने प्रश्नमा उनको जवाफ छ, 'नामै त परीक्षण सामान्य समस्या देखिन सक्ने हुनाले नै परीक्षण भनिएको हो। अहिले देखिएका समस्या अपेक्षित नै हुन्।'
कोरोना महामारीका कारण हाल मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञा आयोजनाको निर्माण र मर्मतमा खासै समस्या नपारेको समेत उनले बताए। निर्माण सामग्रीको अभाव लगायतका समस्या अहिलेसम्म नपरेको पनि उनले जानकारी दिए। तर, कामदारहरू बिच सामाजिक दुरी कायम राखेर काम गर्नुपर्ने हुँदा कामको गतिमा केही ढिलाइ भने भइरहेको उनले बताए।
पूर्वनिर्धारित समयमा उत्पादन सुरु नहुँदा कतै आयोजनाको निर्माण प्रक्रियामा नै ठुलै गम्भीर त्रुटि त भएको होइन भन्ने आम मानिसमा उत्पन्न आशङ्का बारे स्पष्ट पार्दै श्रेष्ठले भने, 'हाल देखिएको समस्या हाम्रो नियन्त्रण भित्रैको हो। निर्माण स्थलमा उपलब्ध प्राविधिकले नै ठिक गर्न सक्ने खालका समस्या देखिएको हुँदा खासै चिन्ता गर्नुपर्ने अवस्था छैन।' तर, कुनैपनी काम गर्न लाग्ने समय भने चाहेर पनि घटाउन नसकिने भएकोले मर्मत सकिन लाग्ने समयसम्म प्रतीक्षा गर्नुको विकल्प नरहेको उनले बताए।
वैशाख अन्तिम हप्ता करिब दुई साताको प्राविधिक परीक्षणपछि ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादन परीक्षण सुरु हुने आयोजनाले यसअघि बताएको थियो । कुल ४५६ मेगावाट क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान गरी आयोजना निर्माणको गतिलाई तीव्र पारिएको थियो ।
पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भए लगत्तै प्रत्येक महिना प्रत्येक युनिटबाट विद्युत् उत्पादन गर्दै जाने आयोजनाको तयारी छ । ‘पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ युनिट छन् । प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मुख्य सुरुङबाट टर्बाइनसम्म आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको डिजाइन संशोधन गरिएको थियो ।
आयोजनाले बिधुत उत्पादन गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उच्च चासो दिने गरेका छन् । प्रधानमन्त्री ओलीले वैशाख २ मा एक सार्वजनिक कार्यक्रममै माथिल्लो तामाकोसीमा भइरहेको ढिलाइ अस्वाभाविक भएको टिप्पणी गरेका थिए । ढिलाइकै कारण प्रतिदिन प्रत्यक्ष रूपमा ५ करोड रुपैयाँ घाटा भइरहेको भन्दै उनले अब पनि आयोजनामा ढिलाइ भए अमान्य हुने धारणा राखेका थिए ।
‘अत्यन्तै अस्वाभाविक ढङ्गले माथिल्लो तामाकोसीको काममा ढिलासुस्ती भइरहेको छ,’ प्रधानमन्त्रीको टिप्पणी थियो, ‘यस्तो ढिलासुस्ती अब मान्य हुँदैन ।’ केही महिनायता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्माण कार्यलाई गति दिन आयोजना व्यवस्थापनलाई ताकेता गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस