
काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण सार्वजनिक नगरको भन्दै नेप्सेले बिहीवार कारोबार रोक्का गरेपछि कम्पनीले शनिवार वित्तीय विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताहरुले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै खानीखोला सहित तीन कम्पनी विरुद्ध नेप्सेमा कारोबार रोक्काको लागि निवेदन दिएका थिए । ती मध्य खानीखोलाले मात्र वित्तीय विवरण सार्वजनिक नगरकाले नेप्सेले कारोबार रोक्का गरेको हो ।
तेस्रो त्रैमाससम्म कम्पनी रू. ९ करोड ९० लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा भने कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. १० करोड १२ लाख २६ हजार खुद नोक्सानीमा थियो । यस वर्ष आम्दानी बढेकाले कम्पनीको सञ्चालन नाफा पनि बढेको छ ।
गत वर्ष विद्युत विक्रीबाट रू. ३ करोड ५६ लाख ६७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष भने रू. ७ करोड २६ लाख १२ हजार आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको व्याजदर बढी तिर्नुपरेकाले कम्पनीको नोक्सानी सुधारमा असर परेको देखिन्छ । गत वर्ष रू. ६ करोड ३४ लाख ७२ हजार बैंक व्याज तिरेको कम्पनीले यस वर्ष रू. ८ करोड ६४ लाख १ हजार तिरेको छ ।
हाल रू. ४६ करोड ५७ लाख १४ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम रू. ६६ करोड २० लाख १ हजार ऋणात्मक रहेको छ । कम्पनीको दिर्घकालिन कर्जा रू. ८६ करोड ४५ लाख ८६ हजार छ । गत वर्ष यो कर्जा रू. ८७ करोड ६३ लाख ६६ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको दिर्घकालिन कर्जा रकम कम भएको हो ।
खुद नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव २७, र प्रतिशेयर नेटवर्थ रू. २९ दशमलव ४१ ऋणात्मक रहेको छ । कम्पनीको शेयरमूल्य भने दोस्रो बजारमा गत बिहीवार रू. २५० मा बन्द भएको छ । वित्तीय अवस्था कमजोर भएका र सार्वजनिक नगरेको कम्पनीहरुको शेयर कारोबारमा चलखेल भएको भन्दै कारोबारनै रोक्का गर्न लगानीकर्ताहरुले माग गरेका हुन ।
प्रतिक्रिया दिनुहोस