aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महँगियो भान्सा: दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ जेठ २०७८
महँगियो भान्सा: दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रय शक्ति कमजोर बनेका बेला राजधानीको भान्छा अचाक्ली महँगिएको छ । तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका हुन् ।  

प्राय जसो तरकारीको मूल्य एक हप्ता यता महँगिएको हो । लामो समयसम्म टिकाउ नरहने तरकारीको मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता अर्थात् रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मार्कामा परेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष भगवान् उप्रेतीले बताए ।

उनले भने, ‘एक हप्ताको तरकारी बजार तुलना गर्ने हो तरकारी मूल्य आकासिएको छ । किनकि अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्न नसकेको कारण बजारमा स्वदेशी तरकारी कम छ।  भारतकै भर परेका छौ, त्यसै कारण मूल्य बढेको हो ।’ तर तरकारीको मूल्य होलसेलमा सस्तो नै भएको र खुद्रामा मनपरी मूल्य गरेको उनको ठम्याई रहेको छ । 

राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको पूर्व अध्यक्ष उप्रेतीले बताए । अहिले तेल, खाद्यवस्तु र तरकारी लगायतको वस्तुहरूमा एकाएक मूल्य बढेको छ । तर अझै पनि राज्य मौन बसेको छ, अनुगमन निकायलाई सक्रिय बनाउन नसकेको कारण उपभोक्ताले मार्का खेपिरहनु परेको उनको भनाई छ  । 

गत साता भन्दा राजधानीमा तरकारीको भाउमा अप्रत्याशित मूल्यमा वृद्धि गरिएको छ । निषेधाज्ञा पछि ओरालो लागेको तरकारी एकाएक वृद्धि हुन थालेको छ । एक हप्ता बिचमा तरकारीको मूल्य ६० रुपैयाँसम्म बढेको छ ।  

गत हप्ता जेठ १७ गतेमा घिउ सिमी (राजमा) औसत मूल्य ४५ रुपैयाँ केजी रहेको घिउ सिमी (राजमा) औसत मूल्य १०५ रुपैयाँ पुगेको छ । भान्छामा प्रयोग हुने तने बोडीको मूल्य किलो मै  २० रुपैयाँले बढेको छ । गत हप्ता जेठ (१७ गते) ७५ रुपैयाँ किलो बिक्री भएको  जेठ २३ (आइतबार)गते ९५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । 

कालीमाटीमा बन्दा औसत मूल्य ३५ रुपैयाँ किलो बिक्री भएको छ । घिउ सिमी र तने बोडी मात्र नभएर घिरौँला, परवल, गाजर, मेथी साग, रायो सागलगायत तरकारीको भाउ बढेको छ । गाजरको मूल्य ४० रुपैयाँले बढेको छ । गत हप्ता ४५ रुपैयाँ किलो बिक्री भएको गाजर अहिले बढेर ८५ रुपैयाँ पुगेको छ ।

कालीमाटी तरकारी बजारका अनुसार गत हप्ताको तुलनामा बोडीको मूल्य ७५ रुपैयाँबाट ९५, घिउ सिमी ४५ बाट १०५, परवल, ७५ बाट ९५ रुपैयाँ किलो पुगेको छ । रायो साग २५ बाट बढेर ४५ रुपैयाँ किलो,  मेथी साग ४५ बाट ७५, लोकल सिमी ४५ बाट ७५, रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । अधिकांश तरकारीको भाउ गत हप्ताभन्दा महँगो भएको छ ।  

उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारीहरूले बताउने गरे पनि सरकारको कमजोर अनुगमन र बिचौलियाको बजार नियन्त्रणका कारण तरकारीको भाउ बढेको ज्यालामा काम गर्नेहरू बताउँछन् । तरकारीको मूल्यमा अचाक्ली वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको उनीहरूको भनाइ छ ।  

त्यस्तै पछिल्लो समय खाने तेलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । अन्य खाद्यान्नको मूल्यमा सामान्य वृद्धि भए पनि खाने तेलको मूल्य भने अचाक्ली बढेको हो । निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्ट लगायत धेरै तेल खपत हुने ठाउँहरू पूर्ण रुपमा बन्द हुँदा माग घटे पनि मूल्य भने निरन्तर उकालो लागेको हो ।

पछिल्लो ३ महिनामै भटमास, तोरी, सनफ्लावर लगायत खाने तेलको मूल्य प्रतिलिटर ७५ रुपैयाँसम्म वृद्धि भएको छ । फागुनसम्म प्रतिलिटर १५० रुपैयाँ रहेको भटमासको तल अहिले बढेर २२५ रुपैयाँसम्म पुगेको छ । यस्तै, प्रतिलिटर २३० रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३०० रुपैयाँ र २७५ रुपैयाँसम्म रहेको तोरीको तेल ३३० रुपैयाँसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस