
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैशाख ३१ गतेनै सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले मंगलवार शेयर सूचीकृत गराएसँगै बुधवारदेखि कारोबारमा आउँने भएको छ । प्रि ओपनिङ सेसनमा कारोबार भएमा मात्र कम्पनीको नियमित सेसनको कारोबार सुरु हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको छ । नयाँ कम्पनीहरुको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ वा त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।
आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । कम्पनीले संस्थापक तर्फको ५८ लाख ७५ हजार ८७० कित्ता र सर्वसाधारण तर्फको २५ लाख १८ हजार २३० कित्ता गरी कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले रू. ८३ करोड ९४ लाख १० हजार चुक्तापूँजी बराबरको उक्त शेयर सूचीकृत गराएको हो ।
यस कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।
यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस