aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धेरै ह्याचरी बन्द भए, कुखुराको मासुको मूल्य बढ्ने निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
धेरै ह्याचरी बन्द भए, कुखुराको मासुको मूल्य बढ्ने निश्चित

काठमाडौं । हाल जारी निषेधाज्ञाको समयमा ५० भन्दा बढी ह्याचरी उद्योग बन्द भएका छन् । निषेधाज्ञाका कारण उत्पादित चल्ला विक्री हुन नसकेपछि व्यवसायीहरूले उद्योग नै बन्द गरेका हुन् । 

अहिले सञ्चालनमा रहेका कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगहरूले पनि ३० प्रतिशत मात्र चल्ला उत्पादन गरिरहेको ह्याचरी उद्योग सङ्घका अध्यक्ष गुण चन्द्र विष्ट बताउँछन्। 'लगभग ५० देखि ६० ह्याचरी उद्योग बन्द नै भइसकेका छन्। चल्ला उत्पादन गरिरहेकाहरूले पनि  पुरै उत्पादन गरेका छैनन् ।' विष्टले भने। आफूले उत्पादन गरिरहेको उद्योगमा पनि एक चौथाइ मात्र चल्ला उत्पादन भइरहेको विष्टले जानकारी दिए । 

विष्ट भन्छन्, “अहिलेको निषेधाज्ञा, कोरोनाको महामारी र समयमा दाना नआईपुग्नुले पनि ह्याचरी उद्योग बन्द नै गर्नु पर्ने अवस्था आएको छ । उत्पादन भएका चल्ला विक्री हुन नसक्दा किसानले ठुलो नोक्सानी बेहोर्नु पर्‍यो। अझै निषेधाज्ञा कहिलेसम्म लम्बिने हो ठेगान छैन, उत्पादित चल्ला, दाना लगायत सामग्रीको ढुवानीमा समस्या छ । त्यसैले ह्याचरी व्यवसायीले अहिले उत्पादन नै बन्द गरेका छन् ।”

'कुखुराका चल्ला थन्काएर राख्न मिल्दैन। त्यसैले उत्पादन नै बन्द गरेका हौँ। जसले उत्पादनलाई निरन्तरता दिएका छन् तिनले अनि थोरै मात्र उत्पादन गरेका छन्।', उनले जानकारी दिए । 

निषेधाज्ञामा उत्पादन गरे पनि किन्ने नहुँदा उत्पादनै रोकेर बसेको हुन् । अहिले निषेधाज्ञामा डेलिभरी गर्न नसक्ने भएकाले ह्याचरी नै बन्द गरी उत्पादन रोक्न बाध्य भएको उनले बताए । ‘लकडाउनमा डेलिभरी गर्न सकिँदैन, केही सक्नेले चल्ला उत्पादन गरिरहेका हुनाले अहिले त्यसैले माग धानी रहेको छ।' उनले बताए। 

अहिले बजारमा चल्लाको कुनै मूल्य नै नरहेको बताए । निषेधाज्ञा अघि प्रतिगोटा ३५ देखि ४० रुपैयाँ हाराहारी पर्ने चल्लाको मूल्य अहिले व्यवसायीले जतिमा बिक्छ त्यतिमा बिक्री गरिरहेको विष्टले जानकारी दिए । 

अहिले मासु किन्नेले किन्ने ठाउँ पाएको छैन। बिक्री गर्नेले पसल खोल्न पाउँदैन। अनि कुखुरा पाल्ने किसानले पनि यस्तो बेला जोखिममा उत्पादन गर्नुको साटो खोर रित्याएका छन्। यस्तै कारणले गर्दा उद्योग नै बन्द गरेको विष्टले बताए । 

उता कुखुरा पालक किसानले पनि बोक्रिगर्ने अवस्थामा पुगेका कुखुरा राखिरहँदा पाल्न नै नसक्ने हुँदा उनीहरुपनि बाध्य भएर चल्ला नै नहाल्ने निचोडमा पुगेको उनले बताए। महँगो दाना खुवाएर पालौँ, खर्च उठ्दैन।  बेचौँ बेच्ने ठाउँ छैन।  त्यसैले किसानहरू चल्ला हाल्न हिचकिचाएका छन्। यसरी निषेधाज्ञा ह्याचरी उद्योग नराम्ररी प्रभावित भएको छ।  

निषेधाज्ञाको समयमा कुखुराको मासु विक्री नहुँदा किसान मारमा परेका छन् । कुखुराको उत्पादन मूल्य प्रतिकुखुरा २२५ रुपैयाँ रहने गरेको छ । किसानहरूले १८० रुपैयाँमा कुखुरा विक्री गर्नुपर्ने बाध्यता रहेको छ । एउटा कुखुरामा किसानले ४५ रुपैयाँसम्म घाटा बेहोर्नु परेको विष्टले बताए । अहिले कुखुराको मासुको मूल्य बढ्नु पर्ने हो तर झन् व्यवसायी मारमा परेका छन् । 'अब लकडाउन सकिए लगतै मूल्य बढ्छ, नबढाई सुख छैन, किसानलाई मार्न सकिँदैन', विष्ट भन्छन्  । 

अहिले जारी निषेधाज्ञाको समयमा कुखुराको मासुको खपत काठमाडौंमा ३० प्रतिशत मात्र रहेको छ । कुखुराको माग काठमाडौंमा ७० प्रतिशत हुने गर्थ्यो। निषेधाज्ञामा होटल, रेस्टुरेन्ट, सबै बन्द भएपछि खपत घटेको हो ।

कुखुराको मासुको स्वदेशी उत्पादनलाई संरक्षण गर्ने सरकारको कुनै ठोस नीति नै नभएका कारण यहाँको उत्पादनले बजार नपाएको उनको आरोप छ । सरकारले सहयोग गरे कुखुराको मासुमा देशलाई दिगो ढङ्गले नै आत्मनिर्भर गर्न सकिने उनको भनाई छ। 

 

प्रतिक्रिया दिनुहोस