
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव असार २१ गते पारित हुने भएको छ । इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ती सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन ।
इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रिय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो । नेपाल एग्रो लघुवित्तले प्राप्ती प्रस्ताव सहित गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्दै प्रस्तावित लाभांश समेत पारित गर्नेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गर्न लागेको हो ।
दुबै कम्पनीको सभाबाट प्राप्ती सम्बन्धि सम्झौता लगाएत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णय समेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । दुई कम्पनी एक भएपछि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनीविच भएको छ ।
दबुै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
त्यस्तै, लकडाउनका कारण स्थगित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असार २३ गते तय भएको छ । कम्पनीले यस अघि जेठ ११ गतेको लागि उक्त साधारण सभाको मिति तय गरेको थियो । उक्त अवधिमा स्थगित सभालाई असार १ गते बसेको सञ्चालक समितिको बैठकले असार २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा विहान १० बजेर ३० मिनेटमा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको छ ।
यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीले सभा मार्फत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने कार्यक्रम राखेको छ । सञ्चालक निर्वाचनसँगै गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षका लागि वाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि बैशाख २९ गतेदेखिको बुक क्लोजको मिति भने यथावत रहने कम्पनीको भनाई छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस