
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसमेतको सहभागितामा पाँच सय वटा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्ने घोषणा गरिएको छ । यसले विद्युतीय सवारी प्रति आकर्षित उपभोक्तादेखि यस्ता सवारीका व्यापार गर्दै आएका व्यवसायीसमेतलाई उत्साहित बनाएको छ ।
त्यसो त चालू आर्थिक वर्षमा पनि यो विषयमा थोरबहुत काम नभएको चाहिँ होइन । देशका सातै प्रदेशमा चार्जिङ स्टेसन स्थापना गर्नका लागि चिनियाँ कम्पनी वान ब्याङ डिजिटल इनर्जीसँग सम्झौता भइसकेको छ । उक्त कम्पनीले सबै प्रदेशमा राजमार्ग नजिक पर्ने ५० स्थानमा चार्जिङ स्टेसन बनाउने सम्झौता केही महिना अघि नै भएको हो ।
एक वर्षभित्रै मुलुकको ५० ठाउँमा चार्जिङ स्टेसन बनाउने सम्झौता भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले आर्थिक न्युज डटकमलाई बताए । एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो ।
प्राधिकरणका प्रवक्ता तिम्सिनाका अनुसार प्रदेश १ को पाँच स्थानहरू दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरीमा चार्जिङ स्टेसन निर्माण हुुँदैछन् । त्यस्तै, प्रदेश २ का सात स्थानहरू वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराजमा यस्ता स्टेसन जडान हुने उनले जानकारी दिए ।
सम्झौतामा यी स्थान तोकिए पनि कुन ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने भन्ने विषयमा भने थप छलफल भइरहेको तिम्सिनाको भनाई छ ।
सम्झौतामा बागमती प्रदेशमा १३ वटा चार्जिङ स्टेसन जडान गर्ने कुरा उल्लेख गरिएको छ । जस अनुसार मुस्लिन–कुरिनटारमा चार वटा चार्जिङ स्टेसन रहनेछन् । त्यसैगरि, मलेखु, सिन्धुली, हेटौँडा र भरतपुरमा दुई÷दुई वटा र बनेपामा एउटा चार्जिङ स्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सात वटा चार्जिङ स्टेसन निर्माण गर्ने सम्झौतामा उल्लेख छ । गण्डकी प्रदेशमा ६ वटा चार्जिङ स्टेसन निर्माण हुनेछन् । पोखरामा तीन वटा रहने गरी नवलपुर, दमौली र स्याङ्जामा एक/एक वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो ।
प्रवक्ता तिम्सिनाले जनाए अनुसार निर्माण हुन लागेका ५० ठाउँका स्टेसनहरूमा एक सय ५० किलोवाट क्षमताका चार्जर मेसिन रहने छन् । जसमा सबै ब्रान्डका गाडीका लागि चार्जिङ सुविधा प्राप्त हुनेछ । चार्जिङ स्टेसनलाई व्यवसायी ढङ्गले सञ्चालन गरिने हुनाले यसमा लाग्ने चार्जिङ शुल्क समेत तय भइसकेको छ ।
देशका मुख्य राजमार्गमा सरकारले निर्माण गर्न लागेका पूर्वाधारले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवसायीहरूको विश्वास छ । अटो डिलर्स एसोसिएसन अफ नेपाल(नाडा)का सदस्य तथा हुन्डाईको नेपालका लागि आधिकारी विक्रेता लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ पनि यस प्रकारका स्टेसन निर्माणले विद्युतीय सवारीको व्यवसायमा ठुलो भरथेग गर्ने बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेसम्म नेपालमा आएका विद्युतीय सवारी साधनहरू तीन प्रकारका चार्जिङ ब्याट्री जडित छन् । सबै जसो ग्राहकले पहिलो थरीका अर्थात् घरमा नै चार्ज गर्न मिल्ने प्रकारका ब्याट्री जडित सवारीसाधन रुचाएका छन् । त्यस्ता गाडीहरू १५/१६ घण्टा चार्ज गरेपछि ४० देखि ५० किमीसम्म कुद्ने गर्छन् ।’
श्रेष्ठ अगाडी थप्छन्, ‘दोस्रो प्रकारका गाडीमा भएका ब्याट्रीलाई भने कार्यालय वा सुपर मार्केटहरूमा समेत चार्ज गर्न मिल्छ । यस्ता गाडीहरू १२/१५ घण्टा चार्ज गरेपछि ४० देखि ५० किमीसम्म गुड्छन् ।’
उनका अनुसार तेस्रो प्रकारको गाडीहरू भने राजमार्गहरूमा पनि चार्ज गर्न मिल्छ । लामो दुरीमा कुदाउन मिल्ने यस प्रकारका गाडीहरूलाई एक पटक ६ घण्टा चार्ज गरेपछि ३ सयदेखि ३५० किमीसम्म गुडाउन सकिन्छ ।
निजी क्षेत्रबाट चार्जिङ स्टेसन बनाउन भने आर्थिक हिसाबले धेरै गाह्रो हुन्छ । एउटा सामान्य कमर्सियल चार्जिङ स्टेसन बनाउन एउटा मेसिनको लाग नै ३०/३५ लाख खर्च हुने श्रेष्ठले बताए । यसरी हेर्दा एउटा चार्जिङ स्टेसन बनाउन कम्तीमा पनि एक करोड लगानी गर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस