aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

यस्तो पनि सम्भव होला ? चारवटै नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ असार २०७८
यस्तो पनि सम्भव होला ? चारवटै नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’

काठमाडौं उपत्यका भित्रिने सवारी साधनबाट निस्कने धुलोका कारण भइरहेको प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरुमा काठमाडौँ महानगरपालिकाले  एकीकृत व्यवस्थापनका लागि चारवटै  नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना गर्ने भएको छ । 

कामपाले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यस विषयलाई समटेको हो । अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लिनिङ सेन्टर निर्माण गरी आर्थिक वर्ष २०७८/२०७९ मा नै आरम्भ गर्ने नीति कार्यक्रममा उल्लेख  छ ।   

उक्त सेन्टर स्थापनाको लागि काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि कामपाको  नेतृत्वमा उपत्यकाका स्थानीय तहहरू समेतको सहभागितामा सार्वजनिक निजी–साझेदारीअन्तर्गत निजी क्षेत्रसँग सहकार्य हुनेछ । 

कामपाले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने पनि कामपाले नीति लिएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

कामपाले नेपाल सरकारको निर्णयानुसार मासिक रु २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीलाई खानेपानी शुल्क मिनाहा गर्ने नीति लिएको छ । 
नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने भनिएको छ ।  

त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार र काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा सडक सुरक्षा कार्ययोजना तर्जुमा गरी सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा मापदण्डले निर्दिष्ट गरेका उपायको अवलम्बन गर्न भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस