
काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ९४ लाख ४२ हजार नापाm कमाएकोमा चालू आवमा वृद्धि भएर रू.६ करोड २९ लाख ७३ हजार पुगेको छ ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी,सञ्चालन नाफा र कम्पनीले रू. ४ करोड ६० लाख ८८ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ११६ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १० करोड ७८ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रकम रू. २६ करोड ६३ लाख ८७ हजार रहेको छ ।
यस कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने तयारी गरेको हो । आइपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हालसम्म कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन् ।
प्रतिक्रिया दिनुहोस