
काठमाडौं । लगातारको वर्षाले गर्दा आएको बाढी, पहिरो र डुबानका कारण विभिन्न जलविद्युत आयोजनाहरूमा ठुलो क्षति पुगेको छ । बाढीका कारण १० अर्व भन्दा बढीको क्षति विभिन्न जलविद्युत आयोजनाले व्यहोरेको उत्पादकहरूले अनुमान गरेका छन्।
उत्पादन सुरु गरेका जलविद्युत आयोजनादेखि वितरण प्रणाली र निर्माणाधीन आयोजनामा समेत उल्लेख्य क्षति भएको छ। दोर्दी कोरिडोरका पाँचै वटा जलविद्युत आयोजनाहरू, महावीर जलविद्युत आयोजना (गण्डकी) र निर्माणाधीनको अन्तिम चरणमा पुगेको सुपर मादि जलविद्युत आयोजनाहरूमा उल्लेख्य क्षति पुगेको छ ।
क्षतिका कारण निजी क्षेत्रमा लगभग २ सय मेगावाट र सरकारी क्षेत्रका लगभग ३ सय मेगावाटको जलविद्युत उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) को अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
बाढी, पहिरो र डुबानका कारण क्षति निर्माणाधीन आयोजनाहरूको निर्माण पुरा हुने समय सीमा अझ पर धकेलिएको उनी बताउँछन् । बाढी, पहिरोका कारण मादि कोरिडोरका दुई वटा, रुदि खोलाको दुई वटा, मोदीको ३ वटा, इन्द्रावतीको ४ वटा र पूर्वतिरका २ वटा जलविद्युत आयोजना बन्द भएको आर्चायले बताए । जसमा निजी क्षेत्रमा लगभग २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको हुन सक्ने उनले अनुमान गरेका हुन् ।
त्यस्तै, सरकारी कालिगण्डकी, मध्य-मस्र्याङ्दि, अपर मस्र्याङ्दि लगायत अन्य गरी ३०० मेगावाट जति जल विद्युत् उत्पादन बन्द भएको हुन सक्ने बताए ।
इपानका अध्यक्ष आचार्यले बाढी पहिरोका कारण १० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताए । “हामीले हिसाब गर्दा अहिलेको क्षति १० अर्ब रुपैयाँ जति भन्ने आएको छ तर अझै विवरण आउन बाँकी छ तर अब निर्माण ढिलो हुने बित्तिकै त्यसले पार्ने क्षति अझ दुई गुणा हुन सक्ने छ ।” बैंकको ब्याज बढी रहने, उत्पादनमा ढिलाइ जस्ता कारणले क्षति बढ्न सक्ने उनले बताए ।
अहिले ठुलो क्षति भएका बाहेक अन्य आयोजनाहरू लगभग दुई हप्तासम्ममा फेरी सञ्चालनमा आउन सक्ने उनको अनुमान छ । ट्रान्समिसन लाइनको टावर ढलेको उठाउन वर्षाका कारण समस्या हुने देखिएको छ । यसको लागि सरकारले तुरुन्त व्यवस्था गर्नु पर्ने देखिन्छ ।
अहिले सरकारले क्षति भएको आयोजनालाई तत्काल बिमाको रकम भुक्तानी गर्न पहल गर्नुपर्ने उनको माग छ। क्षति पुगेकालाई पुनर्निर्माण लागि सहुलियत ब्याज दरको ऋणको व्यवस्था गर्न इपानले माग गरिरहेको अध्यक्ष आर्चायले बताए ।
देशको कठिन भूगोल र मौसमी जटिलताका कारण जलविद्युत पूर्वाधारको पुनर्निर्माण काम थप चुनौतीपूर्ण बनेको छ ।
प्रतिक्रिया दिनुहोस