
काठमाडौं । नागरिक लगानीकोषले गत आर्थिक वर्ष ०७६÷७७ को लागि प्रस्ताव गरेको कुल १७ दशमलव ८९ प्रतिशत लाभांश सुरक्षित गर्ने असार ७ गते सोमवार अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ८ दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्न असार १८ गते २६औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले साधारण सभा प्रयोजनका लागि असार ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांश र सभामा भाग लिनका लागि योग्य हुने भएका हुन ।
कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह २ बजेका लागि तय गरिएको साधारण सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सम्बन्धीत शेयरधनीहरुलाई भर्चुअल सहभागीताको व्यवस्था मिलाईएको कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले यस वर्ष लाभांश दिन लागेको हो । कम्पनीको यस वर्षको लाभांश हालसम्मकै कम हो । अघिल्लो तीन आर्थिक वर्ष एउटै अनुपातमा २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. १३ अर्ब २६ करोड ४० लाख ३४ हजार रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ५९ करोड २० लाख ९ हजार खुद नाफा गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५६ रहेको छ । कोषले पूँजीबृद्धिका लागि गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस