
काठमाडौं । मंगलबारदेखि बजार खोल्ने र निजी सवारी साधनलाई जोर बिजोरको आधारमा चल्न दिने सरकारको निर्णय प्रति सार्वजनिक यातायात महासंघले असहमति जनाएको छ। सरकारको सो निर्णय अव्यवहारिक र पक्षपाती भएको भन्दै बजारमा किनमेल गर्न जाने मान्छेलाई घरमा थुनेर बजार खोल्नुको कुनै अर्थ नहुने महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।
सिटौलाले प्रश्न गरे, ‘सार्वजनिक सवारी साधन नखोलेसम्म बजार खोलेको के अर्थ ? पसल खोलेपछि किन्ने मानिस पनि चाहियो होला नि ? बजारमा किनमेल गर्ने सबै जनाका निजी सवारी साधन त पक्कै छैैनन होला ?’
सरकारले सर्वसाधारणलाई दुख दिने काम गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे। 'सीमित सवारी साधन खोल्ने र मानिसको भिड जम्मा गर्ने काम गरिरहेको छ', आर्थिक न्युजसँगको कुराकानीमा उनले भने । सार्वजनिक सवारीले कोरोना भाइरस सार्ने भन्दै सरकारले नै कुतर्क गरिरहेको आरोप समेत उनले लगाए ।
उनले भने, ‘बरु सरकारले कम सवारी साधन चलाएर कोरोना झन् फैलाउने काम गरिरहेको छ । धेरै सवारी साधन सञ्चालन गर्यो भने यात्रुहरूको भिडभाड कम हुन्छ,यसतर्फ सरकारले किन नसोचेको होला।’
अहिले सरकारले आम मानिसका लागि नभई सीमित वर्गलाई सुविधा हुने खालको काम गरिरहेको उनले बताए । उनले निर्णयकर्ता हरूलाई प्रश्न गरे," सरकारले निजी सवारी साधन जोरबिजोर भनेर सञ्चालन गर्न दिनुको के अर्थ ? अहिले लकडाउन कडा भइरहेका बेलामा पनि ती सवारी साधन त चलिनै रहेका छन्। "
सरकारले कानुनी रूपमा सार्वजनिक यातायातको साधनका रूपमा काम गर्ने यातायातलाई काम गर्न नदिएर गैर कानुनी रूपमा यात्रु ओसार्ने (स्कोरपियो लगायत )लाई अनधिकृत रूपले कमाउने मौका दिइरहेको समेत उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस