aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राधी विद्युतले लाभांश र हकप्रद पास गर्न बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
राधी विद्युतले लाभांश र हकप्रद पास गर्न बोलायो साधारण सभा

काठमाडौं । राधी विद्युत कम्पनीले असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । 

सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्षभने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को संचित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा कर वाहेक ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । 

हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । सोही पूँजीको आधारा राधीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । 

लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कम्पनीको ३६ दशमलव ५० प्रतिशत बोनस शेयर प्राप्त गर्न असार १४ गतेसम्म शेयर कायम गर्नुपर्नेछ ।

कम्पनीको हकप्रद शेयर भने वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्कासन हुने हुदाँ बुक क्लोजको मिति पछिनै तय हुनेछ । राधीको हकप्रद पश्चात हाल १०० कित्ता शेयर हुने लगानीकर्ताको हातमा ३३८ कित्ता शेयर हुनेछ । कम्पनीले बोनस र हकप्रद गरी १८४ दशमलव शून्य २ प्रतिशत शेयर वितरण गर्न लागेको हो । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म यो नाफा रू. ५ करोड ७४ लाख ४६ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ३ प्रतिशतले घटेको छ । गत वर्ष रू. ८ करोड ३२ लाख १२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ४ लाख १ हजार मात्र यो नाफा गरेको हो ।

 विद्युत विक्री आम्दानी ५ दशमलव ६४ प्रतिशत घट्दा सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. १२ करोड १६ लाख १ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ४७ लाख ३२ हजार ३२ हजार गरेको छ । 

कम्पनीको कुल सम्पत्ति रू. ९९ करोड १३ लाख ४७ हजार पुगेको छ । गत वर्ष यस अवधिसम्म कुल सम्पत्ति रकम रू. ९७ करोड १ लाख २ हजार थियो । गत वर्ष यो अवधिसम्म रू. ४ करोड ४७ लाख ६१ हजार कर्जा सापटी लिएको कम्पनीले यस वर्ष रू. ४ करोड ४६ लाख ९७ हजार लिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार छ भने जगेडा कोष रकम रू. २४ करोड ५५ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।

प्रतिक्रिया दिनुहोस