aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लकडाउनका कारण साढे ३ अर्बको दूधजन्य बस्तु स्टकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
लकडाउनका कारण साढे ३ अर्बको दूधजन्य बस्तु स्टकमा

काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण साढे ३ अर्ब बराबरको दूग्ध वस्तु स्टकमा रहेको छ । नेपाल डेरी एसोसिएशनले लकडाउन र निषेधाज्ञाका कारण नीजि र दुग्ध विकास संस्थाको झण्डै साढे ३ अर्ब बराबरको पाउडर दूग्ध र बटर स्टकमा रहेको जनाएको छ । चालू पुँजीको रुपमा रहेको रकम सामान बिक्री नभई स्टकमा थन्किएको कारण कतिपय डेरी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको एसोसिएशनले जनाएको छ ।

पहिलो चरणको लकडाउन १० महिना पछि खुल्दा केहि मात्रामा भए पनि ३ महिनासम्म सहज रुपमा सामान बिक्री भएको थियो । तर, हाल आएर पुनः नयाँ भेरिएन्टको भाइरस कोभिड– १९ महामारीले गर्दा फेरी निषेधाज्ञा भई दूग्ध तथा दुग्ध पदार्थ बिक्रिमा करिब ६० प्रतिशतमा कमि आई दैनिक १० करोड बराबरको दुध बजार नपाई खेर गैइरहेको नेपाल डेरी एसोसिएशन महासचिव प्रल्हाद दाहालले जानकारी दिए । 

अन्य विभिन्न क्षेत्रमा कोभिडको समयमा सरकारले अनुदान र राहत उपलब्ध गराए पनि दुग्ध जन्य क्षेत्रले आजसम्म कुनै किसिमको राहत नपाएको भन्दै महासचिव दाहालले यो पेशाप्रति नै आम किसान र उद्योगीको आकर्षण घटिरहेको बताए । उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा झन निरुत्साहित भएपछि भविष्यमा यसको ठूलो असर पर्ने उनले दाबी गरेका छन् ।

नेपाल एसोसिएशनले पटक पटक यी विषयमा कुरा उठाएको र सम्बन्धित निकायमा पत्राचार समेत गरेकोमा कुनै पनि सुविधा हालसम्म पाएको छैन । यो पेशालाई निरन्तरता दिई देशलाई दुग्ध क्षेत्रमा आत्मनिर्भर बनाई, दूग्ध क्षेत्रलाई बलियो बनाउन, उद्योगीहरुको मनोबल उच्च राख्न तत्काल सरकारको तर्फबाट उचित कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

एसोसियसनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ माहामारीको दोस्रो लहरले सृजित समस्या समाधानका लागि दूधको उचित व्यवस्थापन तथा उद्योगीहरूको ऋणको व्याज मिनाहा एवं स्टक सामान बराबरको कर्जा उपलब्ध गराई तत्काल किसानको भुक्तानीमा ध्यान दिई किसानको मनोबल उच्च बनाउन भनी अगामी बजेटमा सुभाव दिएको तर  उक्त सुझाव सम्बोधन नभएको प्रति दाहालले खेद प्रकट गरेका छन् । नीजि क्षेत्रका डेरीमा लगभग ३० अर्ब लगानी लागेको निषेधाज्ञाका कारण ३० अर्ब बराबरको दुध खेर पनि गएको उनले बताए । 

त्यस्तै सबैभन्दा ठुलो निकाय भएका कारण अहिले यो माहामारीमा नेपाल दूग्ध विकास संस्थान(डिडिसी) पनि मार्का परेको डिडिसीका प्रमुख योजना जनशक्ति तथा बजार व्यवस्थापन विभागका प्रमुख संजिव झाले बताए । करिब एक बर्ष भन्दा लामो समय सम्म कोरोनाको चपेटामा परेका कारण दुग्ध पदार्थ बजारमा खपत हुन सकेन् र एक अर्बभन्दा बढीको दूग्ध पदार्थ स्टकमा रहेको थियो ।  अझै पनि डिडिसीसंग ८७ करोडको दुग्ध पदार्थ स्टकमा रहेको झाले बताए । उनले भने, “दुधबाट बनेको महंगो वस्तु १३ सय मेट्रिक टन स्टकमा रहदा किसानको ४८ करोड रुपैयाँ भुक्तानी गर्न सकिरहेका छैनौं ।” यो रकम समयमा भुक्तानी गर्न नसक्दा किसान नै पलायन हुने हुन् कि भन्ने डर रहेको बताए । 

कोरोना माहामारीको बेला किसानको दुध नीजि क्षेत्रले उठाएन तर डिडिसी नेपाल सरकारको निकाय भएकोले गत बर्षको कोरोनादेखि दूध संकलनमा कुनै कटौती नगरेको उनले बताए । सो समयदेखि डिडिसीले आवश्यकता भन्दा बढी दुध संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार, घरायसी रुपमा दुधको खपत कम छ, जबसम्म होटेल, रेस्टुरेन्ट सामाजिक कार्य जस्तै ः विवाह, पार्टि लगायतका समारोह हुदैन तबसम्म डेरी खपत बढ्दैन । 

गत बर्ष ३० प्रतिशतले बजार खपतमा गिरावट आइरहेको बेला कोरोनाको दोस्रो लहरले वैशाखमा झन १० प्रतिशत थपेर ४० प्रतिशत बजार खपत गिरावटमा काम गरिरहेको झाले जानकारी दिए । अहिले कार्य संचालन गर्न नै अत्यन्त नै कठिन भइरहेको छ । कृषि मन्त्रालयमा अनुरोध लेखेर पढाएका छौ, हामीले आवश्यकता भन्दा बढी दुध खपत गरे बापत सहयोग देउ नभए ३० करोड रुपैयाँ सहुलियतमा क्रृणको माग गरेको बताए । तर निर्णय अहिले सम्म कुनै नभएको जानकारी दिए ।  

कुल ग्राहस्थ उत्पादनमा दूग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ । यो क्षेत्रमा ५ लाख कृषक परिवारले प्रत्यक्ष रोजगार पाएका छन् भने ३० हजार जनाले उद्योग तहमा रोजगार पाएको एसोसिएसनको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस