aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ असार २०७८
अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्कासन गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर खरिदका लागि आवेदन दिने असार १३ गते (आज) अन्तिम दिन रहेको छ । यस अघि असार ९ गतेसम्मका लागि विक्री खुलाको मिति तय गरेको कम्पनीले अवधि थप गरी असार १३ गतेसम्मको मिति तय गरेको थियो । 

अपि पावरले प्रतिकित्ता रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे हो । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गरेकाले बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गर्न लागेको हो । 

यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने केयर एनपी बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।

अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस