aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ असार २०७८
जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

काठमाडौं । असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । 

पहिलो दिनमै मागभन्दा ५ गुणा बढी आवेदन परेको यस कम्पनीले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्न लागेको हो । छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । 

पहिलो दिनमै विकेको कम्पनीको आईपीओ खरिदका लागि आइतवार साझ ५ बजेसम्म १५ लाख १२ हजार ३९४ जनाले २ करोड ३० लाख ५४ हजार ३६० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । आइतवारसम्म भने मागभन्दा १२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । 
कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो शेयरको मूल्य प्रतिशेयर रू. १०० तोकिएको छ ।

आईपीओ खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । 

यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 

साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ । 

नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले निष्कासन गर्न लागेको यो आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिने इक्रा एनपी आईआर त्रिपल बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस