aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यूनियन लाइफले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ असार २०७८
यूनियन लाइफले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

युनियन लाईफ इन्स्योरेन्सको आइपिओ असार २४ गतेदेखि विक्रीमा आउने 

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गतेदेखि आइपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ विक्री विक्री गर्न लागेको हो । 

आइपिओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

कम्पनीले सर्वसाधारणमा जारी पुँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ता भएको ७० प्रतिशत सेयर पुँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब चुक्तापूँजी कायम गर्न आइपिओ विक्री गर्न लागेको हो । 

आइपिओ पश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब १५ करोड पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सङ्केत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यो आइपिओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिने यो आइपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

नयाँ जीवन बीमा कम्पनीको रूपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रूपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ । 

यस अवधिसम्म कम्पनीले ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस