aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आगलागी

किन गर्दैछ चौधरी ग्रुपले ठूलो बीमा दाबीमा ढिलासुस्ती ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ असार २०७८
किन गर्दैछ चौधरी ग्रुपले ठूलो बीमा दाबीमा ढिलासुस्ती ?

काठमाडौँ। शायद 'शक्तिमान'हरूले गरेको मनमौजी देखेरै कवि शिरोमणि लेखनाथ पौडेलले त्यो बेला श्वाशत सत्य लिपिबद्ध गरेका होलान्, 'बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्व–सम्मत; छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।' यदि उनको वाणी सत्य नहुँदो हो त देशकै सबैभन्दा धनी व्यापारिक घराना चौधरी ग्रुपले सबैलाई यसरी आजित पार्ने थिएन। 

प्रसङ्ग, ठिक एक महिना अघि जेठ १९ गते चौधरी समूहको पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा रहेको बियर र चाउचाउ राख्ने कार्टुनको गोदाममा आगलागी हुँदा भएको क्षति विवरण लुकाइएको सम्बन्धमा हो। आगलागीको त्यो घटना सबैको चासोको विषय यसकारण पनि बन्यो कि त्यहाँ भएको क्षतिपूर्ति गर्न बीमा कम्पनीले भुक्तानी गर्ने रकमले अन्ततः सो बीमा कम्पनीका लगानीकर्ताले पाउने बोनस घट्ने हो। 

बीमा दाबीमा पहिले नै बदनाम 

यसअघि २०६९ सालमा यही समूहको सतुङ्गल स्थित इलेक्ट्रोनिक्स उपकरणको गोदाममा भएको आगलागीको बीमा दाबी र भुक्तानीको विषय सर्वोच्च अदालतसम्म पुग्यो। त्यसैले पनि कति रकम बीमा दाबी भयो भन्ने जिज्ञासा स्वाभाविक रूपमा सबैलाई हुने नै भो। अझ सतुङ्गल घटनाको रोचक पक्ष त यो थियो कि बीमा समितिले क्षति भन्दा बढी दाबी भयो भनिरहँदा बीमा कम्पनी चाहिँ क्षति भएको भन्दा धेरै रकम भुक्तानी गर्न पाउँ भन्दै अदालत गएको थियो।  

यसरी 'पश्चिमबाट घाम उदाएको' भन्न मिल्ने गरी बीमा कम्पनीले उल्टै धेरै दिन्छु भनिरहेको थियो। त्यति मात्र होइन त्यस बेला बीमा समितिको तर्फबाट बहस गर्ने वकिलले अदालतमा के समेत तर्क गरे भने यदि बेलैमा भुक्तानी गर्न पाइएन भने विदेशबाट पुनर्विमा कम्पनीले तिरेको रकम समेत फिर्ता जान्छ। यसरी कुतर्क गर्दै चौधरी समूहलाई क्षति भएभन्दा धेरै भुक्तानी गर्न बीमा कम्पनी नै अग्रसर भएको घटना ताजै हुँदा फेरी सोही समूहको कम्पनीमा आगलागी भएको र बीमा दाबीमा एक महिनासम्म कुनै प्रक्रिया अघि नबढेको घटनाले फेरी अर्को आशंका उब्जाएको छ - कतै भित्र भित्रै क्षति भन्दा बढी बीमा दाबी गरेर आगलागी जस्तो दुर्घटनालाई समेत आर्जन गर्ने स्रोत त बनाइँदै छैन ?

के हुन् दाबीका आधारहरू 

सामान्यतया बीमा दाबी र भुक्तानीको विधि के हो भने घटना भए लगत्तै सो सम्पत्ति बीमा गरेको संस्थाका प्रतिनिधिले त्यहाँ स्थलगत भ्रमण गर्छन्।  घटनाको प्रकृति हेर्छन् र  सर्भेयरले प्रारम्भिक रिपोर्ट समेत पेस गर्छन् । यो कम्पनीको हकमा भने दुई वटा बीमा कम्पनीमा बीमा गरिएको थियो। शिखर इन्स्योरेन्समा मेसिनरी र प्लान्ट अनि सिद्धार्थ इन्स्योरेन्समा गोदामको बीमा गरिएको रहेछ।  

घटना भएकै दिन चौधरी समूहका उच्च तहका व्यवस्थापकहरूले घटनास्थल भ्रमण गरे।  दुवै बीमा कम्पनीका  नजिकका शाखाबाट प्रतिनिधि समेत गए। उनीहरूले घटनाको प्रकृति हेरे।  शिखर इन्स्योरेन्सले त सो क्षेत्र नजिक पर्ने आफ्ना तीनवटा शाखाबाट प्रतिनिधि पठाएको कम्पनी सचिव सुरज राजवाहकले बताए। 

आजित प्रहरी 

स्थानीय प्रहरीले आगो निभाउने काममा सहयोग गर्ने देखी क्षति विवरण संकलनसम्म गर्ने चलन छ। तर, सो उद्योगमा आगो लाग्दा कति क्षति भन्यो भन्ने मुचुल्का समेत अहिलेसम्म तयार नभएको स्थानीय प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन थापा बताउँछन्। उनको गुनासो नै बेग्लै छ।  भन्छन्, "हाम्रो काम के कति क्षति भयो त्यो पनि संकलन गर्ने र माथिल्लो निकायमा पठाउने  पनि हो तर, उद्योगले यो बारे जति माग्दा पनि जानकारी दिएको छैन।" 

चौधरी समूहले आगलागीको क्षति विवरण नै तयार नपार्न पनि पाउँछ। त्यो नितान्त निजी सम्पत्ति हो। बीमा दाबी समेत नगर्न सक्छ किनकि एउटा उद्योगको कार्टुन गोदाममा लागेको आगो र त्यो फैलँदा भएको सामान्य क्षतिले चौधरी समूहको पोर्टफोलियोमा खासै असर पार्दैन। तर, सो समूहले बेवास्ता गर्दा समेत अरूलाई भने पिडा थपिएको छ। इन्स्पेक्टर थापा त्यो पिडा पोख्छन्, "मलाई माथिबाट क्षति विवरण पेश गर्नु भन्ने बारम्बार आदेश छ।  उता माग्यो पाइँदैन।  दिँदैनन्।  काम नगरेको भनेर जागिर नै पो धरापमा पर्ला जस्तो भो। "  

स्थानीय सरकारको गुनासो 

त्यसो त प्रहरीलाई मात्र होइन स्थानीय सरकारलाई समेत घटनामा भएको क्षतिबारे कुनै अन्दाज नै छैन। देवचुली  नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ सो कम्पनीले घटनाबारे औपचारिक रूपमा जानकारी समेत नगराएको गुनासो गर्छन्। उनले भने, "आगो लाग्यो त्यति थाहा छ।  हामीलाई केही जानकारी नै दिँदैनन्। हाम्रो माथिको सरकार अन्तर्गत हो भन्छन्।" अनि तपाईहरुले यति क्षति भएको हो भन्ने कुरा सिफारिस नै नगरी कसरी उनीहरूले  बीमा दाबी गर्छन् त ? भन्ने प्रश्नमा उनको जवाफ छ, "खोई, अब ठुला व्यापारीको कुरा मिलाउँदा हुन् नि।"

चौधरी समूहको पेलाइको पिडा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले समेत महसुस गरेका रहेछन्। उनले पनि आगलागी भएको सुनेको तर त्यस बाहेक अरू कुनै जानकारी अहिलेसम्म नआएको बताए। उनले अनबिज्ञता व्यक्त गर्दै भने, "खोइ के हो मैले बुझेको एउटा हो।  यहाँ त अर्कै छ। हामीले आफ्नो क्षेत्रमा रहेका सबै उद्योगधन्दा बारे जानकारी राख्ने र नजिकको सरकारको रूपमा काम गर्ने भन्ने बुझेको हो। तर, चौधरी समूहले त्यो मान्दैन। त्यसैले के कति क्षति भयो हामीलाई भन्दैनन्। भनेका छैनन्।" पहिले कर्मचारीले स्थानीय तह चलाएको बेला नियमित रूपमा कर तिरिरहेकोमा हाल राजनीतिक नेतृत्व आएपछि सो समेत चौधरी समूहले तिर्न छाडेको समेत उनले गुनासो गरे।

केही गम्भीर प्रश्न 

यसबाट के स्पष्ट हुन्छ भने स्थानीय प्रहरीलाई थाहा छैन कति क्षति भयो। न त पालिका सरकार नै त्यो बारे अवगत छ।  अब उठेको प्रश्न यो हो कि घटना भएको  एक महिनासम्म तयार नभएको मुचुल्का कहिले बन्छ ? के त्यो मुचुल्का बन्दा तथ्यमा आधारित होला ? जलेजती खाली कार्टुन सबैमा तयारी बियर र चाउचाउ थियो भन्दै दाबी पर्‍यो भने बीमा कम्पनीले के भन्ने ? 'होला' भन्ने आधार के अनि कसरी 'होइन होला' भन्ने ? 

त्यो भन्दा पनि महत्त्वपूर्ण प्रश्न त मानौ चौधरी समूहले 'यो क्षतिको विवरण हो, यसलाई प्रमाणित गरिदिनुपर्‍यो' भन्दै यस बेला आफू खुसी विवरण बनाएर ठुलो क्षति भएको भन्ने व्यहोरा प्रमाणित गर्न आग्रह गर्‍यो भने त्यहाँको प्रहरीले सदर गर्ने कि नगर्ने ? उता नगरपालिकाले ठिकै होला भन्ने कि प्रश्न उठाउने ? हो भनौ थाहा छैन। होइन भनौ आगलागी भएकै हो। यो धर्मसंकटमा बसेर आएको सिफारिसलाई आधार मानेर बीमा दाबीको बीमा कम्पनीले भुक्तानी दिने वा नदिने ?

बीमा कम्पनीको बेग्लै पिडा    

यता बीमा कम्पनीका दुख उस्तै। गोदामको बीमा गरेको कम्पनीले धेरै भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने घटनाका प्रत्यक्षदर्शी इन्स्पेक्टर थापाको भनाई छ। त्यसैले गोदामको बीमा गरेको कम्पनी सिद्धार्थ इन्स्योरेन्सको दाबी भुक्तानी विभागका प्रमुख दीपक धुतलाई के कति बीमा दाबी आयो भनेर सोध्दा उनले भने, " दाबी भुक्तानीको ताकेता ग्राहकले नै गर्ने हो। तर, अहिलेसम्म कुनै निवेदन नै आएको छैन। हामीले उल्टै चासो राखेको हो तर पनि कुनै रेस्पोन्स आएको छैन।" त्यसो त बीमा कम्पनीले पनि ठुला ग्राहकलाई गर्ने व्यवहार बेग्लै हुन्छ। उनले अगाडी थपे, "ठुलो क्षति भयो होला यदि हामीले प्रारम्भिक विवरण मात्र पाए पनि पेस्की स्वरूप अग्रिम भुक्तानी समेत दिन सक्थ्यौं। त्यो समेत पाइएको छैन।"

सोही कम्पनीका अर्का कर्मचारीले भने निकै रोचक कुरा गरे तर डर मान्दै।  उनले भने "अहिलेसम्म दाबी आएको छैन।" "किन होला त नआएको ?" को जवाफ थियो, "मेरो नाम चाहिँ उल्लेख नगर्नु होला तर ठुलाको कुरा के के हो के के। पहिले सतुङ्गल घटना सम्झनु न कुरा बुझिहालिन्छ नि।"  

सो उद्योगको अर्को बीमाकर्ता कम्पनी शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजवाहकले भने, "चौधरी समूहको शिखर इन्स्योरेन्समा पनि बीमा छ । तर, मेसनरी र प्लान्टको मात्रै हाम्रोमा बीमा गरेको छ। आगलागी गोदाममा भएको जानकारी आएको थियो। तै पनि हामीले घटना लगत्तै नजिकका शाखाबाट घटनास्थलमा कर्मचारी पठाएका थियौं । र, अहिले एक जना सर्भियर नियुक्त गरेर घटनाको अध्ययन गर्न लगाएका छौं। तर, सर्भियरको रिपोर्ट भने आउन बाँकी रहेको छ ।"

चौधरी ग्रुपको अनौठो मौनता 

चौधरी ग्रुपका जनसम्पर्क महाप्रबन्धक मधुसुधन पौडेललाई यसरी लामो समयसम्म क्षतिको विवरण नै तयार नहुनुको कारण के हो ? खासमा सो आगलागीबाट भएको नोक्सानी कति हो ? भन्ने लगायतका प्रश्नहरू गर्न सम्पर्क गर्दा उनले फोन उठाएनन्। फोन गर्नुको कारण समेत खोलेर गरिएको म्यासेजको समेत पौडेलले जवाफ नदिएका कारण चौधरी ग्रुपले किन यसबारे चासो नराखेको हो भन्ने स्पष्ट हुन सकेन।

कुन उद्देश्यले चौधरी ग्रुपले क्षतिको मुचुल्का नै नउठाएको हो भन्ने समेत बुझ्न सकिएन। आगलागी भएको उद्योगका स्थानीय जिम्मेवार व्यवस्थापकहरूलाई यही प्रश्न सोध्दा उनीहरूले भने, "हामीलाई नबोल्नु भन्ने आदेश छ। कसैले केही सोधेको खण्डमा 'मधुसुधनलाई नै सोध्नुस्' भन्नु भनेर निर्देशन पाएका छौं। त्यसैले हामी केही भन्दैनौं।"

प्रतिक्रिया दिनुहोस