aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बजारमा चहलपलह बढ्न थालेसँगै तरकारीको मूल्य चार गुणाले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० असार २०७८
बजारमा चहलपलह बढ्न थालेसँगै तरकारीको मूल्य चार गुणाले बढ्यो

काठमाडौं । पछिल्लो समय तिन÷चार गुणाले तरकारीको मूल्य बढ्न थालेको छ । अफसिजनका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए । 

उनले भने, “निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढ्न थालेको छ । अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न  थालेको हो । अझै केही समय  तरकारीको मूल्य उकालो लाग्ने छ ।”  बजारमा तरकारीको उत्पादन र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिन्छ । खासगरी अहिले तरकारीको उत्पादन कम भएकोले नै मुल्य बढेको हो ।

अहिले बर्षादको समय भएकोले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमिनमा धान रोप्ने काम भइरहेकोले पनि हरियो तरकारी उत्पादन घटेको श्रेष्ठले बताए ।  यति बेला ठूलो परिमाणमा तरकारी उत्पादन हुँदैन ।  उत्पादन कम भएपनि बजारको माग धानिरहेको उनले जानकारी दिए । हाल दैनिक ५ सय देखी ६ सय टनसम्म स्वदेशी उत्पादन हुने गरेको छ भने भारतबाट पनि आलु प्याज कागती लगायतका तरकारी आयात भैरहेको उनले बताए ।

यस्तै एक महिनामा बन्दागोभीको मुल्य पाँच गुणाले बढेको छ । जसमा जेठ २० गते औसत मुल्य प्रतिकिलो १७ रुपैयाँले बिक्रि भएको थियो । बन्दागोभीको मुल्य आज (आइतबार) ७५ रुपैयाँमा बिक्रि भइरहेको छ । जसको मुल्य प्रतिकिलो ५८ रुपैयाँले बढेको छ । जेठ २० गते ५५ रुपैँया प्रति किलो  रहेको धनियाँ मुल्य बढेर एक सय ३५ रुपैयाँ पुगेको छ । उक्त मूल्य दुई गुणा भन्दा २५ रुपैयाँले बढी हो ।

हरियो खुर्सानी (अकबरे) को एक महिनामा प्रतिकिलो १६५ रुपैयाँले बढेको छ । गत महिनामा प्रतिकिलो हरियो खुर्सानी (अकबरे) ११० रुपैयाँले कालिमाटी फलफुल तथा तरकारी बजारमा बिक्रि भएको आज भने सोही खुसार्नीको मुल्य प्रतिकिलो २७५ रुपैयाँमा बिक्रि भइरहेको छ ।  हरियो खुर्सानी (बुलेट) प्रतिकिलो ५५ रुपैयाँ र भेडे खुर्सानी पनि प्रतिकिलो ५५ रुपैयाँ रहेको अहिले बढेर ११५ र १०५ रुपैयाँ पुगेको छ । यसको मुल्य ठिक गुणा भएको छ ।
 
त्यस्तै, घिउ सिमीमा पनि दुई गुणाले बढी मुल्य बढेको छ । राजमा घिउ सिमी  प्रति किलो ५५ रहेको सिमीको मूल्य एक सय ५ पुगेको छ भने, हाइब्रिड सिमी र लोकल सिमीको मुल्य भने २० रुपैयाँले बढेको छ । गत जेठ २० गते प्रतिकिलो ५५ रुपैयाँले बिक्री गर्दै आएको सिमी आज प्रतिकिलो ७५ मा बिक्री भइरहेको छ ।  

साथै, घिरौलामा पनि मूल्य वृद्धि भएको छ । प्रतिकिलो ४५ रुपैँयाबाट ७५ रुपैँया प्रति किलो पुगेको छ । भने, चमसुको सागमा ४० रुपैँयाले वृद्धि भएर हाल प्रतिकिलो ८५ रहेको छ । जुन एक महिना अघि ४५ रुपैँया थियो । ४७ रुपैँयाबाट भारतीय गोलभेडा  ६५ रुपैँया प्रति किलो पुगेको छ ।  त्यस्तै, २७ रुपैँया प्रतिकिलो तोरीको साग मूल्य हाल ५५ रुपैँया पुगेको छ । भने पालुगों साग ४५ बाट ८५ रुपैयाँ र रायोको साग २७ बाट ६५ रुपैयाँ पुगेको छ । 

वर्षा याममा तरकारीको उत्पादन कम हुने कारण मूल्य वृद्धिलाई मौसमी मान्नु पर्ने प्रवक्ता श्रेष्ठ बताउँछन् । यस समय भारतबाट पनि तरकारी आयातमा कमी नै आउने कारण मूल्य वृद्धिमा थप प्रभाव पर्ने उनले प्रष्ट पारेका छन् ।
 

प्रतिक्रिया दिनुहोस