
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रि अलोटमेण्ट कार्य सोमवार सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलले सोमवार प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको जानकारी दिएको हो ।
बोर्डले निर्देशन बमोजिम यसै साताभित्र आईपीओ बाँडफाँट गर्ने जानकारी क्यापिटलले दिएको छ । अन्तिम बाँडफाँटका लागि सम्पूर्ण तयारी पुरा भएपनि बोर्डको निर्देशन बमोजिम बाँडफाँट गर्नुपर्ने भएकाले अहिलेनै बाँडफाँटको मिति तय नभएको क्यापिटलको भनाई छ ।
कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरिरदका लागि २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट मागभन्दा १६ दशमलव ७३ गुणा बढी रू. ३ अर्ब ९ करोड १० लाख ५३ हजार बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन दिएका परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो । कम्पनीले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते अनुमति पाएको हो । कम्पनीले २०७७ साल फागुन १७ गते आईपीओ निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।
नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस