
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन आग्रह गरेका छन । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वले महानिर्देशक प्रकाश पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समस्याका बारेमा छलफल गरेको हो ।
कोभिड १९ को कारण ठूलो समस्यामा परिरहका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको भन्नु हुदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका छन ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराए । त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयात र एक्जीम कोडको नविकरण ५ बर्षसम्म हुन पर्ने धारणा राखेका थिए । नयाँ एक्जीम कोड लिदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।
उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्था बनाउन आग्रह गरेका थिए । त्यसैगरी सो छलफलमा विभागका प्रवक्ता शिवराज सेढाई, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस