aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

शुक्रवार दुई कम्पनीको साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
शुक्रवार दुई कम्पनीको साधारण सभा हुँदै

काठमाडौं । असार २५ गते शुक्रवार युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकले वार्षिक साधारण सभा बोलाएका छन् । युनियन हाइड्रोपावर लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो भने कर्पोरेट डेभलपमेण्ट बैंकले १३ औं वार्षिक साधारण सभा बोलाएको हो । 

युनियन हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५÷७६ र ०७६÷७७ को वार्षिक साधारण सभा गर्न लागेको हो । दुबै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नका लागि कम्पनीले सभा बोलाएको हो । 

कम्पनीद्वारा प्रबद्धित ३ मेगावाट क्षमताको मिदिम खोला करापु जलविद्युत आयोजनको लागि लिईएको ऋण व्यवस्थापन र अन्य आयोजनाको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि कम्पनीले हकप्रद शेयर मार्फत पूँजी जुटाउने योजना बनाएको हो  ।

हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । 

कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभाका लागि असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले असार २५ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णग गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ । साथै कम्पनीको कार्यक्षेत्र न्यूनतम जोडिएका पाँच जिल्ला हुने भएकाले हाल कार्यक्षेत्रमा जोडिएका एकै प्रदेशभित्रका बारा, रौतहत, सर्लाही र महोत्तरी जिल्ला थप गर्ने निर्णय पनि सभाले गर्नेछ । असार ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाका लागि योग्य हुने कम्पनीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस