aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिलो दिनमै युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा ४ लाख ६१ हजारको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ असार २०७८
पहिलो दिनमै युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा ४ लाख ६१ हजारको आवेदन

काठमाडौं । विहीवारदेखि सार्वजनिक निष्कासनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट रू. ८२ करोड ४७ लाख ८८ हजार बराबरको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । 

कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । पहिलो दिनमै मागभन्दा १ दशमलव ४२ गुणा बढी आवेदन परेको हो । सार्वजनिक निष्कासनमा आएको शेयर खरिदका लागि मात्र आवेदन दिन सकिनेछ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असार २८ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो ।

 आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस