
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँ दरको कर्मचारी र सामूहिक लगानीकोषलाई समेत गरी कुल ३ लाख ९५ हजार ३३५ दशमलव ९७ कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।
आईपीओ निष्कासनको तयारी स्वरुप कम्पनीले विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शुक्रवार कम्पनी र क्यापीटलबीच आईपीओ विक्रीको लागि सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।
कम्पनीले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरेको छ । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्रप्राप्त“घ” वर्गको राष्ट्रियस्तरको यस कम्पनीले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको हो ।
प्राप्ती पश्चात् वित्तीय कम्पनीको अधिकृत पुँजी रू. २० करोड र जारी पुँजी रू. १२ करोड १६ लाख ४१ हजार पुगेको छ । हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ ।
कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थ कर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस