
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रवार प्रि–अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको जानकारी दिएको हो । बोर्डले स्वीकृति दिएमा आगामी सोमवारभित्र अन्तिम बाँडफाँट गर्ने जानकारी समेत क्यापिटलले दिएको छ ।
कम्पनीले असार १७ गतेदेखि असार २१ गतेसम्म ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २० लाख १९ हजार १९ जना आवेदकहरुबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ७१ दशमलव ९५ गुणा बढी हुन आउँछ । कम्पनीले कर्मचारी र सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी रहेको शेयर गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता थप एक एक कित्ताका दरले दुई जनाले हात पार्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री वितरण गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७६÷७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस