
काठमाडौं । राधी विद्युत कम्पनीले मंगलवार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । विगतका वर्षहरुमा १० दशमलव ६० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्षभने हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को संचित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा कर वाहेक ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो ।
हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्रापूँजी चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । सोही पूँजीको आधारा राधीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।
लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कम्पनीको ३६ दशमलव ५० प्रतिशत बोनस शेयर प्राप्त गर्न असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य भएका छन् ।
कम्पनीको हकप्रद शेयर भने वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्कासन हुने हुदाँ बुक क्लोजको मिति पछिनै तय हुनेछ । राधीको हकप्रद पश्चात हाल १०० कित्ता शेयर हुने लगानीकर्ताको हातमा ३३८ कित्ता शेयर हुनेछ ।
कम्पनीले बोनस र हकप्रद गरी १८४ दशमलव शून्य २ प्रतिशत शेयर वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राधी विद्युत कम्पनीले रू. ६ करोड २६ लाख २४ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५१ दशमलव ८५ छ ।
प्रतिक्रिया दिनुहोस