aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन बाँकी, नयाँ लाइसेन्स दशैंअघि नखुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ असार २०७८
६ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन बाँकी, नयाँ लाइसेन्स दशैंअघि नखुल्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र “स्मार्ट लाइसेन्स’ प्रिन्ट गर्न ६ लाख बाँकि रहेको जनाएको छ । यसभन्दा पहिला नै आवेदन दिएकाहरुको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न अझै बाँकी रहेको यातायात व्यवस्था विभागले  जानकारी दिएको हो । 

हाल नवीकरण गरिएका र ट्रायल पास भएकाहरुको स्मार्ट लाइसेन्स  प्रिन्ट गर्न नसकेको विभागले जनाएको छ ।  लाइसेन्स प्रिन्ट गरिने कार्ड सकिएकाले सो काम हुन नसकेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले आर्थिकन्युज डटकमलाई बताए । त्यसैले अहिले कुनै लाइसेन्स प्रिन्ट नभएको उनले भनाइ छ ।

लाइसेन्सका लागि कागज ल्याउन फ्रान्स कम्पनीलाई ठेक्का दिइएको भुसालले बताए । फ्रान्सको सेल्प नामक कम्पनीले १४ लाख स्मार्ट कार्ड ल्याउन लागेको हो । २ महिनाभित्र सो कार्ड नेपाल आईसक्ने उनले जानकारी दिए ।  उक्त कार्ड ल्याउन कति बजेट लाग्छ त्यो भन्ने खुलाइएको छैन । उक्त स्मार्ट कार्डले हालसम्म वितरण हुन बाँकी रहेका सबै आवेदक र लाइसेन्स दिन फारम भरेकाहरुलाई पुग्ने उनको दावी छ । अब आउने नयाँ आवेदनका लागि भने विभागले कुनै तयारी नगरेको भुसालले जानकारी दिएका छन् ।

भुसालले नयाँ लाइसेन्सको फारम दशैँ अघि खोल्न नसकिने बताएका छन् । तालिम सेन्टरको भौतिक रुपमा संचालन भएसंगै लाइसेन्सको परीक्षा र ट्रायल लिने भुसालले जानकारी दिए । हाल अनलाइन लाइसेन्स फारम समेत बन्द गरिएको समेत उनले बताए । उनले दशै अघि लाइसेन्स वितरण सुचारु गर्ने सम्भावना नरहेको बताए ।

 ‘अब दशैँपछि मात्र लाइसेन्स खुलाउने, वितरण गर्ने, परीक्षा लिने सबै गरिन्छ होला, अहिले कुनै तयारी छैन,’ भुसालले भने ‘निवेदन मात्र लिएर के गर्नु लाइसेन्स नदिएपछि एकै पटक धेरै प्रिन्ट गर्न समस्या हुन्छ उनले भने ।’ धेरै निवेदन मात्र लिदा वितरणमा समस्या हुने भन्दै हाल लाइसेन्स निवेदन बन्द गरिएको उनको भनाइ छ ।

पहिले नै लाइसेन्सका लागि आवेदन दिएका ७ लाख मानिसहरु अझै परिक्षा दिन पाएका छैनन् । दोस्रो कोरोना माहामारीका कारण निषेधाज्ञा जारी भएसंगै लाइसेन्सको परिक्षाहरु स्थगित भएका थिए । निषेधाज्ञा खुकुलो भए पनि हाल लाइसेन्सको आवेदन खुल्ला नगरिने उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस