aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अपि पावरको हकप्रद शेयर बाँडफाँट, नपरेको रकम आइतवारदेखि फिर्ता भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
अपि पावरको हकप्रद शेयर बाँडफाँट, नपरेको रकम आइतवारदेखि फिर्ता भुक्तानी

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म सार्वजनिक निष्कासन मार्फृत विक्री गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले रितपूर्वक आवेदन दिने ८८ हजार ९२२ जनालाई ५४ लाख ५४ हजार ४०१ कित्ता शेयर बाँडफाँट गरेको हो ।  अपि पावरले प्रतिकित्ता रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे हो । 

यस पटक कम्पनीको २ लाख १५ हजार ५९९ कित्ता शेयर वितरण हुन सकेन । यस पटक वितरण हुन नसकेको उक्त शेयर कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीले यो हकप्रद शेयर प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गरेकाले बैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरिद गर्न सक्ने व्यवस्था थियो । 

हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कम्पनीले साउन ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेड तथा मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालयहरु मार्फत दरखास्त बुझाउनेहरुको हकमा सोही स्थानबाट र ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय तथा अपि पावर कम्पनी लिमिटेड मार्फत दरखास्त बुझाउनेको हकमा सम्बन्धीत कम्पनीमार्फत रकम फिर्ता भुक्तानी गरिने कम्पनीको भनाई छ । यो शेयर विक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गरेको हो । यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । 

कम्पनीले दोस्रो चरणमा विक्री गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस