aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका सह प्रबक्ता रुपेश केसीले असार ३१ गते बिहीवार दुबै कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको जानकारी दिएका हुन । 

सानिमा लाईफ इन्स्योरेन्सले जेठ ९ गते रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो । बोर्डले सोही बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । सानिमा लाईफको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

सानिमा लाईफ इन्स्योरेन्सको चुक्तापूँजी हाल रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । नयाँ बीमा कम्पनीको रुपमा सञ्चालन रहेको यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो ।

त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोर्डले रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो । कम्पनीले यो आईपीओ निष्कासनको लागि बैशाख १३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल मानुषी लघुवित्तको चुक्तापूँजी रू. ७ करोड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस