
काठमाडौं । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सवाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरी एप सञ्चालनमा साझा सवाल मिडियाका सञ्चालक अनिल अधिकारीले जानकारी दिए ।
साझा सवाल मिडियाले २०७५ सालदेखि उक्त एप सञ्चालनमा ल्याएको हो । यो एप अब आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर ‘वैदेशिक रोजगार’ सर्च गरेर डाउनलोड गर्न सक्नेछन् । एपमार्फत वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिन सकिनेछ ।
एपमा आफूले मन परेको देशको डिमान्ड, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचर उपलब्ध रहेको सञ्चालक अधिकारीले बताए । वैदेशिक रोजगारमा जान चाहनेले ‘गुगल म्याप’को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ ।
त्यसैगरी, कुन देशमा कुन कुन पदमा केके डिमान्ड आएका छन् भनेर हेर्न सकिने छ । यस्तै विदेशमा समस्यामा परेका नेपालीले विभिन्न निकायमा निवेदन दिने नमूनाबारे जानकारी, वैदेशिक रोजगार बोर्डद्वारा जारी तालीम पाठ्यक्रम, वैदेशिक रोजगारसम्बन्धी ऐनरकानूनबारे जानकारीलगायत विभिन्न निकायका सम्पर्क नम्बर थाहा पाउन सकिने छ ।
एपमा इजाजत प्राप्त म्यानपावरका सम्पर्क जानकारी, दूतावास, अभिमुखीकरण संस्था, मेडिकल संस्थाबारे जानकारी र वैदेशिक रोजगारअन्तर्गत तालिम प्रदायक संस्थाबारे जानकारी पाउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस