
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका चार वटा कम्पनीले बोलपत्र पेस गरेका छन् । १४० मेगावाट जडित क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेस गर्न दिएको अन्तिम दिन आइतबार चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेस गरेका हुन् । दातृ निकाय एसियाली विकास बंैक (एडीबी) को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।
बोलपत्र पेस गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्ट्रक्सन नेपाल जेभी रहेका छन् ।
कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको थियो । सुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।
निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।
प्रतिक्रिया दिनुहोस