aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आजदेखि तेह्रथुम पावरको आईपीओ विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
आजदेखि तेह्रथुम पावरको आईपीओ विक्रीमा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गते मंगलवारदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई आईपीओ विक्री गर्ने भएको छ । सर्वसाधारणका लागि रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गर्न लागेको हो ।  

आयोजना प्रभावित स्थानिमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गर्न लागेको हो । यो आईपीओ खरिदका लागि छिटोमा साउनमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै यो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङ्लुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्न लागेको हो । स्थायिन र आम सर्वसाधारणमा शेयर जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८४ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ । 

प्रतिक्रिया दिनुहोस