
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले साउन ५ गते मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक बराबर एक शेयर खरिद गर्न पाउने गरी हकप्रद निष्कासन गर्न लागेको हो । उक्त अनुपातमा कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्र्ने भएको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्् । योग्य आवेदकहरुले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो ।
कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ६३ करोड ८९ लाख ९० हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १ अर्ब ५७ करोड ४९ लाख ७८ हजार छ । प्रतिशेयर आम्दानी रू. ५ दशमलव १६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस