aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एक वर्षमै ९ अर्ब ८८ करोडको व्यतीत बीमालेख सरेण्डर, के हो यसको कारण ?

  • रिता राउत
    रिता राउत
  • बुधबार, ०६ साउन २०७८
एक वर्षमै ९ अर्ब ८८ करोडको व्यतीत बीमालेख सरेण्डर, के हो यसको कारण ?

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा जीवन बीमा तर्फ मात्र ९ अर्ब रुपैयाँ भन्दा बढीको व्यतीत बीमालेखहरु सरेण्डर भएका छन् । बीमा समितिका अनुसार गत आर्थिक वर्षमा ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतीत सरेण्डर भएका हुन्।  

यसरी ठुलो मात्रामा बीमालेख सरेण्डर हुँदा त्यसले समग्र बीमा क्षेत्रमा नै असर पार्ने हुन्छ।  त्यसैले यसरी सरेण्डरको संख्या बढ्नुमा को दोषी छ भन्ने खोज्नु आवश्यक भइसकेको छ। 

अभिकर्ताले अध्ययन नै नगरी बीमा पोलिसी बिक्री गर्दा व्यतीत बीमालेख सरेण्डर गर्ने गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । उनी भन्छन्, ‘व्यतीत बीमा सरेण्डर हुनुमा फाइनान्सियल अन्डरराइटिङका कुरा छन् । अभिकर्ताहरुले अध्ययन नै नगरी बीमालेख बिक्री गरेका हुन्छन् । जसका कारण व्यतीत बीमालेख सरेण्डर हुन्छ ।’  

बीमा पोलिसी सरेण्डर हुनुमा प्रमुख कारण बीमितको फाइनान्सियल अन्डरराइट नै रहेकोमा उनले  जोड दिए । पौडेलले भने, ‘बीमा कम्पनीहरुले बीमितको फाइनान्सियल अन्डरराइट गर्ने सिलसिलामा उसको कमाइ कति छ । उसले बीमाको कति प्रिमियम  तिर्न सक्छ जस्ता कुराहरूको यकिन गर्नु पर्छ । नत्र बीमा पोलिसी बिक्री गरे पनि बीमितले दुई तीन किस्ता तिरेपछि सरेण्डर गर्न तिर लाग्छ । अहिले धेरैजसो त्यही भएको हो।’    

कुनै व्यक्तिको आम्दानी भन्दा बढीको बीमा पोलिसी बिक्री गर्न नहुने पौडेलको भनाइ छ । उनी भन्छन्, ‘बीमाले सुरक्षासँगै बचत पनि गराउने हो । कोही व्यक्तिले सय रुपैयाँ कमाउँछ भने उसको आफ्नो खर्च कटाएर २० रुपैयाँ बच्छ भने १० रुपैयाँको बीमा गर्नु/गराउनु पर्छ । उनीहरूको आम्दानी भन्दा बढीको बीमा पोलिसी बिक्री गरियो भने उसले तिर्न सक्दैन । त्यसले निम्त्याउने भनेको सरेण्डर नै हो।’ 

यस अलावा बीमितको आवश्यकता र निजलाई बिक्री गरिएको पोलिसी बिच मेल नखाएका कारण पनि धेरै व्यतीत बीमालेख सरेण्डर हुने गरेका पौडेलको बुझाई छ।  त्यसैले जसलाई बीमा गराउने हो त्यो व्यक्तिको खास आवश्यकता के हो भन्ने पहिचान गरेर मात्र बीमा गराउनु पर्ने उनी बताउँछन्। 

आवश्यकतामा आधारित बीमा पोलिसी बिक्री नभएको कारणले व्यतीत बीमा लेखहरू सरेण्डर भएको पौडेलको भनाइसँग भने मेट लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निर्मल काजी श्रेष्ठ पनि सहमत छन् । उनी भन्छन्, ‘व्यतीत बीमा पोलिसी सरेण्डर हुनुको प्रमुख कारण भनेको आवश्यकतामा आधारित बीमा पोलिसी बिक्री नहुनु नै हो । हाम्रोमा आवश्यकतामा आधारित बीमा पोलिसी छैन । उपयुक्त पोलिसी बिक्री नभएपछि व्यतीत बीमा पोलिसी सरेण्डर हुन्छ । तर, हाम्रोमा बीमा पोलिसी बिक्री गर्दा यी कुरा ध्यान दिने गरिएको छैन ।’    

कतिपय मानिसहरूलाई ओभर सब्सक्रिसन बीमा र अण्डर सबसक्रिसन बीमा पोलिसी बिक्री गरिने गरेको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘कतिपय मानिसहरूलाई एक करोडको बीमा पोलिसी आवश्यक छ । तर, उसलाई एक दुई लाखको पोलिसी बिक्री गरिएको हुन्छ । यसले गर्दा बीमितले मलाइ यो आवश्यक छैन भनेर पनि सरेण्डर गरेको हुन्छ । त्यति मात्र होइन कतिपय मानिसहरूलाई चार पाँच लाखको बीमा पोलिसी आवश्यक छ । तर यसलाई करोडको बीमा पोलिसी बिक्री गरिएको छ भने उसले पनि  सरेण्डर गर्ने गर्छ ।’  

अन्य केही कारणले पनि व्यतीत बीमा पोलिसी सरेण्डर हुने गरेको उनले बताए । कतिपयको आर्थिक स्थिति नबुझी बीमा पोलिसी बिक्री गर्ने गरिएको बताउँदै श्रेष्ठ भन्छन्, ‘कसलाई कुन बिमा पोलिसी ठिक हुन्छ भनेर ध्यान दिने गरिएको छैन । कतिपयले टार्गेट पुर्‍याउनका लागि जबरजस्ती पोलिसी बिक्री गरिएको हुन्छ । यसले गर्दा उनीहरूले पछि बीमा सरेण्डर गर्ने गर्छन् ।’ 

उनका अनुसार आर्थिक अभावका कारण व्यतीत बीमा पोलिसी सरेण्डर हुने  गरेको छ। यस वर्षकै कुरा गर्ने हो भने कोरोनाका कारण पनि धेरैले सरेण्डर गरेका छन् । यसका साथै विदेश जानेहरूले पनि व्यतीत बीमा पोलिसी सरेण्डर गर्ने गरेका छन् । 

पोलिसी सरेन्डरको कारण कम्पनीको पोर्टफोलियोमा, आर्थिक प्रक्षेपणमा असर पर्ने उनले बताए । आवश्यकतामा आधारित उपयुक्त बीमा पोलिसी बिक्री नभएसम्म सरेण्डरको संख्या बढिरहने श्रेष्ठको भनाई छ ।  

 

प्रतिक्रिया दिनुहोस