
काठमाडौँ। वाग्मती प्रदेशमा ‘यातायात व्यवस्था सूचना प्रणाली’ को शुभारम्भ गरिएको छ । सवारी साधनको अनलाइन कर भुक्तानीका लागि यस्तो प्रणाली स्थापित गरिएको हो। शुक्रबार मकवानपुरको हेटौँडामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।
प्रणालीको शुभारम्भ भएसँगै वाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने बताइएको छ । अब सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लू बुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर भुक्तानी गर्न सकिने भएको छ। प्रदेशको
भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएको जानकारी अनुसार सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्नेछन् ।
सो कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेशमा सुशासनको युग शुरू भएको दाबि गरे । त्यसैगरी उनले अब विद्युतीय बस सञ्चालन गर्नका लागि टेन्डरको आह्वान भइसकेको भइसकेको जानकारी दिए । हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले सो अवसरमा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस