aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने
फाइलः तस्विर

काठमाडौं ।  कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौं एक सय मेगावाट विद्युत क्षमताको आयोजनामा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । आइतबार लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गरेका थिए । 

माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौं अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ । गत असारको अन्तिम साता उद्घाटन भएको भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो । 

तामाकोशी पाँचौँको कूल लगानी १६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये  १२ अर्ब रुपैयाँ कोषले उपलब्ध गराउँदा थप  चार अर्ब रुपैयाँ भने प्राधिकरणले लगानी गर्ने भएको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ । 

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा  बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ । 

प्रतिक्रिया दिनुहोस