काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा आउने भएको छ । कम्पनीले कार्यालय अवधिपश्चात २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।
यस अघि जेठ २० गतेदेखि असार १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यो शेयर साउन २० गतेसम्मका लागि लिलामीमा विक्री गर्न लागेको हो ।
कम्पनीले शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडको भक्तपुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
अपि पावर कम्पनीले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । उक्त आयोजनाको अनुमानित लागत रू. ७ अर्ब ४० करोडमध्य रू. २ अर्ब २२ करोड शेयरधनीहरुबाट संकलन गर्ने योजना कम्पनीको रहेको छ ।
अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले दोस्रो चरणमा २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।
गत वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले दोस्रो चरणमा विक्री गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । मंगलवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ४७९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस